काठमाडौँका ३६ ठाउँमा आफैँले ट्राफिक लाइट बालेर बाटो काट्न सकिने प्रविधि सञ्चालनमा

काठमाडौँ, २३ माघ । काठमाडौँको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा पैदल यात्रुले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ ।
बुधबादेखि पद्मकन्या अगाडिको सडकमा काठमाडौँ महानगरपालिकाले पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको हो । पैदल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै काठमाडौँ महानगरले अहिलेसम्म ३६ ठाउँमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याइएको काठमाडौँ महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले बताए ।
उनले सडक दुर्घटना न्युनिकरण र यात्रुको सुरक्षाका लागि उक्त प्रविधिको अवधारणा ल्याइएको बताए। उनकाअनुसार पेलिकन क्रसिङ गर्दा यात्रुले बटन थिच्ने बित्तिकै केही समयका लागि सवारीसाधन रोकिनेछन् र यात्रुले ढुक्कका साथ क्रस गर्न सक्नेछन् । यात्रुको सुरक्षालाई मध्यनजर गर्दै महानगरपालिकाले अन्य ठाउँसमेत ट्राफिक लाइट बाल्ने प्रविधि सुरु गर्न लागेको बताए ।
सडक सुरक्षाका लागि जेब्रा क्रसिङमा ट्राफिक लाइट राखिनु उदाहरणीय काम भएको भन्दै स्थानीय खुशी भएका छन् । पद्मकन्या बहुमुखी क्याम्पसकी विद्यार्थी सन्ध्या बस्नेतले उक्त प्रविधिले सडक दुर्घटना कम हुने विश्वास लिइन् ।
उनले भनिन्, ‘रोड सेफ्टीको लागि जुन ट्राफिक लाइट र बटन राखिदिनुभएको छ । यो उदाहरणीय काम भएको छ।’ काठमाडौँ महानगरपालकाले सडक सुधार आयोजना अन्तर्गत पेलिकन लाइट जडानको काम गरिरहेको छ ।
क्याटेगोरी : जनमञ्च, पालिका, समाचार
प्रतिक्रिया