Techie IT
Samayabaddha
बुधबार, २६ कात्तिक, २०८२

चितवनमा निकुञ्जकर्मीले चलाएको गोली लागेर हात्तीको मृत्यु


चितवन, २४ माघ । चितवनमा गोली लागेर एक हात्तीको मृत्यु भएको छ । आक्रमणको प्रयास गरेपछि प्रतिकारमा निकुञ्जकर्मीले चलाएको गोली लागेर हात्तीको मृत्यु भएको हो ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले विज्ञप्ति जारी गर्दै सौराहा आसपासको क्षेत्रमा जंगली हात्ती (मकुना) ले बस्तीमा पसेर दुःख दिँदै आएपछि नियन्त्रणको प्रयास गर्दा आक्रमण गर्न खोजेपछि गोली चलाउनु परेको जनाएको छ ।
मकुनालाई हात्ती स्वीप माध्यमवाट निकुञ्जको ‘कोर इलाका’मा पठाउन केही दिनदेखि चितवन राष्ट्रिय निकुञ्ज सौराहाका कर्मचारी तथा नेपाली सेनाको संयुक्त टोलीले ५६ वटा हात्तीद्वारा स्वीप गर्ने र कोर इलाकातर्फ धपाउने काम गरिरहेको थियो ।

बुधबार स्वीपिङ गस्तीका क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा मकुना फेला परेको थियो । गस्तीमा रहेको घरपालुवा हात्तीलाई आक्रमण गर्न आएपछि आत्मसुरक्षाको लागि दुई राउण्ड वार्निङ हवाई फायर गरिएको निकुञ्जले जनाएको छ ।

“सानो हात्ती खगेन्द्रप्रसादमा सवार रेञ्जर श्याम तामाङ हात्तीबाट खसेकाले उनको सुरक्षा गर्न तीन राउण्ड फायर गरिएको थियो । केही पर भागेर पुनः फर्किएर आक्रमण गर्न आएकोमा थप एक राउण्ड फायर गरिएको थियो,” विज्ञप्तिमा उल्लेख छ, “अन्यत्र भागेको हात्ती खोज्दै जाने क्रममा करिब एक किलोमिटर दूरीमा मृत फेला परेको थियो ।”


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट