पाइप समातेर सुनकोशी नदी वारपार गर्दै विद्यार्थीहरू
गएको असोज १२ गतेको विनासकारी वाढी पहिरोको पीडाले अभैm पनि सुनकोशी नदी आसपासका विद्यार्थीहरुलाई छोड्न सकेन । रामेछापको खाँडादेवी गाउँपालिका पुछिघाटका सुमन माझी छिमेकी सुनकोशी गाउँपालिका ६ खाल्टेमा रहेको दीर्घप्रदीप माध्यमिक विद्यालयमा अध्ययन गर्छन् । उनलाई विद्यालय आवातजावत गर्न दिनको दुई पटक सुनकोशी नदी वारपार गर्नुपर्छ ।
पुछीघाट र चैनपुर जोड्ने गरि सुनकोशी नदीमाथि रहेको झोलुंगे पुल १२ असोजको बाढीले क्षतिग्रस्त बनाएपछि उनी जोखिम मोलेर भए पनि विद्यालय आवतजावत गर्न बाध्य छन् । बाढीले बगाएर बाँकी रहेको पुलको लठ्ठामा बाँधेर राखिएको पाइपमा झुण्डिएर उनी नदी पार गर्दै थिए, ‘डुंगाबाट नदी तर्न अलि माथि जानुपर्छ । विद्यालय जान पनि ढिला हुन्छ घुमेर जाँदा आउँदा रात परिसक्छ त्यसैले दैनिक यहीँबाट जोखिम मोलेरै वारपार गर्छौ ।’ क्षतिग्रस्त पुलमाथि भेटिएका सुमनले मलिन स्वरमा भने ।
सुमनमात्रै होइन, बाढीले बगाएर क्षतविक्षत भएको झोलुंगे पुलकै सहारामा दर्जनौ विद्यार्थी आवतजावत गर्छन् । सुनकोशी ६ मा रहेको दीर्घप्रदीप माध्यमिक विद्यालय खाल्टे र पञ्चकन्या प्राथमिक विद्यालय चैनपुरमा गरी रामेछापबाट सिन्धुलीतर्फ सुनकोशी तरेर २८ जना विद्यार्थी दैनिक आवतजावत गर्छन् । परिवारका सदस्यले पैसा दिएका केही विद्यार्थी डुंगामार्फत् आउजाउ गर्छन् भने केही सोही पुलमा जोखिमपूर्ण यात्रा गरेर विद्यालय पुग्दै आएका छन् ।
पञ्चकन्या प्राथमिक विद्यालयकी छात्रा कमला सुनकोशीमा रहेको डुंगा चढ्नुपर्ने भएकाले चिसो मौसममा समेत खुट्टामा जुत्ता लाउन नमिलेको बताउँछिन् । यहाँ कोशीभित्रै डुंगा हुन्छ, त्यहाँसम्म पुग्न खुट्टा भिजाउनै पर्छ अनि हामीलाई दैनिक दुई पटक लगाउन र खोल्न गाह्रो हुन्छ त्यसैले चप्पल लगाएर आवातजावत गर्छौ, उनले भनिन् ।
बाढी अगाडि पुल हुँदा सहजै आवातजावत भए पनि पुल बगाएपछि विद्यार्थीसहित स्थानीयको दैनिकी समस्यामा परेको छ । नदीमाथि भएका झोलुंगे पुलहरु बाढीले बगाएपछि सुनकोशी नदी वारपार गर्न विद्यार्थीसहित स्थानीयलाई निकै समस्या भएको स्थानीय सरकारले पनि देखेको छ तर उनीहरुलाई सो समस्या समाधान गर्नेतर्फ कुनै योजना बनाएका छैनन् ।
बाढीले सिन्धुलीको सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिका र फिक्कल गाउँपालिका जोड्ने गरी रामेछाप तथा ओखलढुंगाका विभिन्न गाउँ जोडिएका पक्की तथा झोलुङ्गे पुल बगाएको छ । पुल बगाएसँगै विद्यार्थीलाई मात्रै नभएर किसान तथा दैनिक पैदल यात्रा गर्ने यात्रुलाई समेत सुनकोशी तर्न मुस्किल पर्न थालेको छ । किसानलाई धान पराल तार्न समेत समस्या भएको स्थानीयको गुनासो छ ।
सिन्धुलीस्थित सुनकोशी नदीमा आएका बाढीले खुर्कोट मन्थली सडक खण्डस्थित खुर्कोटबाट रामेछापको सेलेघाट जोड्ने पक्की पुल बगाएपछि उक्त स्थानमा नेपाली सेनाले बेलिब्रिज बनाएको छ भने सुनकोशी १ दुम्जाबाट रामेछापको खाँडादेवी गाउँपालिका जोड्ने पक्की पुल बगाएको थियो । दुई पक्की पुलसहित १४ वटा झोलुंगे पुलमा बाढीले क्षतिग्रस्त भएको छ । क्षति भएको पुल तत्काल बनाएर सहजता दिन स्थानीय सरकार लाग्नुपर्ने स्थानीय बासिन्दाले माग गरिरहेका छन् तर त्यसतर्फ कसैको ध्यान नगएको सुनकोशी अस्पतालका अध्यक्ष केशव देवकोटाले बताए ।
उनी अगाडि भन्छन्ः रामेछापको खाँडादेवी र सिन्धुलीको सुनकोशी गाउँपालिकाका जनप्रतिनिधिले विद्यार्थीहरुले झेलेका समस्या देखिरहेका छन् तर उनीहरु त्यो समस्या समाधान गर्नेतर्फ उद्यत छैनन्, अर्थात त्यो समस्या उनीहरुको प्राथमिकतामा परेकै छैन ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया