सत्ता, शक्ति र धन प्राप्तिको अनावश्यक मोहले प्रणालीको दुरूपयोग बढ्यो : राष्ट्रपति पौडेल
काठमाडौं, २८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले सत्ता, शक्ति र धन प्राप्तिको अनावश्यक मोहले प्रक्रिया, पद्धति र प्रणालीको दुरुपयोग बढेको बताएका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको सन्दर्भमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सत्ता, शक्ति र धन प्राप्तिको अनावश्यक मोहले प्रक्रिया पद्धति र प्रणालीको दुरूपयोग बढेकोतर्फ चिन्ता व्यक्त गरे।
‘सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता हो। सत्ता शक्ति र धन प्राप्तिको अनावश्यक मोहले प्रक्रिया, पद्धति र प्रणालीको दुरुपयोग बढेको छ। भ्रष्टाचारको प्रकृति र स्वरूप जसरी परिवर्तन भइरहेको छ, त्यस अनुसारको अनुसन्धान र अभियोजन प्रक्रिया अवलम्बन गर्दै आधुनिकीकरण गर्दै जानुपर्छ भन्ने मलाई लाग्छ,’ राष्ट्रपति पौडेलले भने ।
कानुनी राज्यको स्थापना र सुशासनको प्रत्याभूति गराउनु राज्यको प्रमुख दायित्व भएकाले आयोगले भ्रष्टाचारका सम्भावित जोखिमका बारेमा सार्वजनिक निकाय र पदाधिकारीलाई बोध गराउनुपर्नेमा उनको जोड थियो।
‘भ्रष्टाचारको नियन्त्रणमा अगाडि भूमिका निर्वाह गर्न कुनै कसर बाकी राख्ने छैन भन्ने मलाई विश्वास छ। ठूला प्रकृतिका सार्वजनिक खरिदका विषयमा विसंगति देखिएको भनेर जुन चिन्ता व्यक्त भइरहेको छ, त्यसमा राज्यपक्ष र अख्तियार गम्भीर बनोस् भन्ने मेरो चाहना छ,’ पौडेलेको भनाइ थियो।
‘आयोगले शक्ति र पद हुँदैमा कानुनी जवाफदेहिताबाट मुक्त हुँदैन भन्ने विश्वास आम नागरिकमा गराउन सक्नुपर्छ भन्ने मलाई लाग्छ,’ उनले भने। नागरिकको जीवनस्तरमा गुणात्मक सुधार गरी जनताको विकास र सुशासनप्रतिको उच्च आकांक्षालाई पूरा गर्नुपर्ने पौडेलको भनाइ थियो।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया