सरकार एमालेकरण भएको शेखर कोइरालाको दाबी
काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा सांसद डा शेखर कोइरालाले काँग्रेस अहिले सरकारमा नरहेको बताएका छन् ।
मंगलवार काठमाडौंमा नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै कोइरालाले यस्तो बताएका हुन् । नेता कोइरालाले काँग्रेस सत्ता पक्षमा रहेको तर सरकार बाहिर रहेको जिकिर गरे । जबकि अहिले नेपाली कांग्रेसबाट उपप्रधान तथा शहरी विकास मन्त्री प्रकासमान सिंहको नेतृत्वमा परराष्ट्रमन्त्री आराजु राणा, गृहमन्त्री रमेश लेखक, उर्जामन्त्री दिपक खड्का, स्वास्थ्य मन्त्री प्रदिप पौडेलसहित एक दर्जनभन्दा बढी मन्त्री सरकारमा सामेल छन् ।
कोइरालाले सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता रहेको बताएका हुन् । उनले सरकार थाहा नपाउने गरी बिस्तारै बिस्तारै एमालेकरण हुन लागेको आरोप लगाए ।
साथै नेता कोइरालाले संयन्त्रले सरकार चलाउने कुरा वेठिक रहेको टिप्पणी गरे । यस्तो कुरा ‘कम्युनिष्टहरु र साम्यवादी देशहरुमा मात्रै हुनसक्ने’ भन्दै लोकतन्त्रमा त्यस्तो नहुने उनको जिकिर थियो । उनले अहिले केन्द्रदेखि गाउँपालिकासम्म संयन्त्रबाट शासन गर्ने प्रवृत्ति बढेको भन्दै अब बिस्तारै वडामा पनि संयन्त्र बनाएर शासन गर्ने दुष्प्रयत्न भइरहेको बताए ।
सांसद कोईरालाले सामाजिक सञ्जाल सम्बन्धी विधेयक मानिसको अभिव्यक्ति स्वतन्त्रताप्रति आघात पुग्नेगरी ल्याइएको बताए । नियमन गर्ने नाउँमा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न नपाइने उनको भनाई छ । कुनैपनि हालतमा सरकारले संसदमा पेश गरेको सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता गरेर सम्बन्धित सरोकारवालहरुसँग छलफलपछि मात्रै पुनः ल्याउनुपर्ने उनको भनाई छ ।
सांसद कोईरालाले “सामाजिक सञ्जाल सम्बन्धी विधेयक भर्खर संसदमा गएको छ । छलफल हुनतः बाँकी नै छ । तर जसरी यो विधेयक आएको छ । र जस्ताको त्यस्तै पास भयो भने मानिसको अभिव्यक्ति स्वतन्त्रताप्रति नै आघात पुग्छ । नियमन गर्ने नाउँमा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न पाइँदैन । कुनैपनि हालतले यो विधेयक फिर्ता गरिकन स्टेक होल्डरहरुसँग छलफल गरी यो विधेयक ल्याउन जरुरी छ । यो सरकार बनाउने बेलामा हामी सबै लागेका थियौँ । देशमा सशुासन छैन, सुशासन दिन सकिन्छ, संविधान संशोधन गर्न सकिन्छ भनेर दुई ठूला दल मिलेर सरकार बनाऔँ भनेर लागेका थियौँ । राजनीतिक स्थायित्व दिन सकिन्छ, देशलाई समृद्ध बनाउन सकिन्छ भनेर पहल गरेको हो । तर जसरी यो सरकार चल्दैछ, अघि बढ्दैछ, संसदलाई छलेर अध्यादेश ल्याउने जमर्काे गरिरहेको छ, यसले लोकतन्त्रलाई अप्ठ्यारोमा पारिरहेको छ” कोईरालाले बताए ।
नेता कोईरालाले संसद बोलाउनु ६ दिन पहिला अध्यादेश ल्याइएको भन्दै सरकारको आलोचना गरे ।
सांसद कोईरालाले देशमा सुशासन, राजनीतिक स्थायित्व दिनका लागि वर्तमान सरकार बनाएपनि सरकारका काम कारबाही घुस दिनेलाई समात्ने र घुस लिनेलाई उन्मुक्ति दिने किसिमको देखिएको आरोप लगाए ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया