विकास निर्माणको वाधक विकासको मोडेल : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकास निर्माणको वाधक विकास मोडेल भएको बताएका छन् । विकासको मोडेल परिवर्तन गर्न नसक्दा योजनाबद्ध विकास हुन नसकेको उनको भनाई छ ।
बिहीबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै मन्त्री दाहालले यस्तो बताएका हुन् । उनले विकास निर्माणका कामहरु अगाडि बढाउनका लागि प्राथमिकता निर्धारण गर्न जरुरी रहेको बताए ।
मन्त्री दाहालले जनघनत्व र उपभोक्ताको आधारमा आयोजनाको प्राथमिकता निर्धारण गर्नुपर्ने बताए ।
उनले मुलुकलाई समृद्ध बनाउनका लागि स्थानीयको उत्पादन शहरसम्म पु¥याउनका लागि आवश्यक सडक र बाटो निर्माण सरकारको प्राथमिकतामा रहेको समेत बताए ।
उनले भने, ‘अहिले हामीले विकासका मोडलहरुमा पनि हेरफेर गर्नुपर्ने भएको छ । हामीले योजनावद्ध विकास गर्न सकेका छैनौँ । योजना आयोगले विकासका आयोजनाहरु अगाडि बढाउने भए पनि योजनाअनुरुप काम हुँदैन । अब त्यस्ता कुराहरुलाई अन्त्य गरेर प्राथमकिता निर्धारण गर्नुपर्दछ ।’
बिहीबारबाट सुरु भएको प्रदर्शनी फागुन ११ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा विभिन्न देशका ३ सयभन्दा बढी कम्पनीहरुका १५० बढी स्टल रहेका छन् । प्रदर्शनीमा निर्माणसम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरु र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी लिन पाइनेछ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया