Techie IT
Samayabaddha
मंगलबार, २५ कात्तिक, २०८२

नेटोको तयारी : रुसको सम्भावित आक्रमणको चेतावनीपछि युरोपमा हतियार खरिद तीव्र


काठमाडौं । केही वर्षभित्र रुसले युरोपमा युद्ध सुरु गर्न सक्ने गुप्तचर रिपोर्ट सार्वजनिक भएसँगै नेटोका सहयोगी राष्ट्रहरूले हतियार खरिद तीव्र पारेका छन् ।

डोनाल्ड ट्रम्पले नेटो सदस्य राष्ट्रहरूलाई आफ्नो रक्षा क्षमता विस्तार गर्न आह्वान गरेपछि डेनमार्कले आगामी दुई वर्षभित्र रक्षामा ७० प्रतिशत बजेट वृद्धि गर्ने निर्णय गरेको छ । यससँगै डेनमार्कको रक्षा खर्च जीडीपीको ३.२ प्रतिशत पुग्नेछ ।

युरोपले अमेरिकी सहयोग घट्ने र रुसबाट आक्रमणको जोखिम बढ्ने आकलन गर्दै सुरक्षा रणनीति सुदृढ बनाइरहेको छ । डेनमार्कले आगामी दुई वर्षमा थप सात अर्ब डलरको रक्षा बजेट विनियोजन गर्ने घोषणा गरेको छ ।

‘किन्नुहोस्, किन्नुहोस्, किन्नुहोस्’

डेनिस प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले बुधबार आफ्नो सरकारको रक्षा खरिद योजनाबारे बोल्दै भनिन्, ‘रक्षा प्रमुखका लागि मेरो स्पष्ट सन्देश छ— किन्नुहोस्, किन्नुहोस्, किन्नुहोस् ! यदि उत्तम हतियार प्राप्त गर्न सक्दैनौं भने दोस्रो उत्तम किन्नुहोस् । अहिले सबैभन्दा महत्वपूर्ण कुरा गति हो ।’

रक्षा बजेट वृद्धिले डेनमार्कलाई अत्याधुनिक हतियार खरिद गर्न र युक्रेनलाई थप सैन्य सहायता प्रदान गर्न सक्षम बनाउनेछ । साथै, ग्रीनल्याण्डको प्रतिरक्षा मजबुत पार्न १.९ अर्ब डलरको प्रतिबद्धता गरिएको छ ।

रुसको सम्भावित युद्ध योजनाः ६ महिनाभित्र सिमावर्ती हमला, ५ वर्षमा यूरोपमै युद्ध ?

पोलिटिकोको रिपोर्ट अनुसार, डेनिस रक्षा गुप्तचर सेवाले रूसको सम्भावित युद्ध योजनाबारे विश्लेषण गर्दै निम्न निष्कर्ष निकालेको छ—

६ महिनाभित्र सीमावर्ती देशहरूमा सानो स्तरको युद्ध, २ वर्षभित्र बाल्टिक क्षेत्रमा क्षेत्रीय युद्ध, ५ वर्षभित्र अमेरिकाले हस्तक्षेप नगरेको अवस्थामा युरोपमै ठूलो युद्ध ।

गुप्तचर रिपोर्टमा भनिएको छ, ‘यदि रुसले नेटोलाई सैन्य रूपमा कमजोर वा राजनीतिक रूपमा विभाजित देखेमा, ऊ एक वा बढी नेटो राष्ट्रहरूमाथि आक्रमण गर्न पूर्ण रूपमा तयार हुनेछ ।’

बर्लिनस्थित कार्नेगी रूस(युरेसिया सेन्टरका निर्देशक अलेक्ज्याण्डर गाबुएभले पनि यही चेतावनी दोहोर्‍याएका छन् । उनका अनुसार, ‘रुस अहिले आफ्नो सेना पुनर्गठन गरिरहेको छ, पाँच वर्षभित्र अझ ठूला र शक्तिशाली आक्रमणका लागि तयारी गर्दैछ ।’

उनले थपे, ‘पुटिनको विजयवाद, पश्चिमप्रति प्रतिशोध र इतिहासमा आफ्नो छाप छोड्ने इच्छाले मस्कोलाई युरोपविरुद्ध अर्को युद्धको तयारी गर्न प्रेरित गर्नेछ।’

नेटो सदस्य राष्ट्रहरू यस्ता चेतावनीलाई गम्भीर रूपमा लिँदै छन् । ट्रम्पले नेटो सदस्य राष्ट्रहरूलाई रक्षा खर्च जीडीपीको ५ प्रतिशतसम्म पु-याउनुपर्ने सुझाव दिएका छन् । यसैबीच, युरोपेली रक्षा कम्पनीहरू अमेरिकाका ठूला सैन्य ठेकेदारहरूलाई पछि पार्दै बजार विस्तार गरिरहेका छन् ।

युरोपमा युद्धको खतरा ?

रुसको युक्रेनमाथिको आक्रमण तेस्रो वर्षमा प्रवेश गरिसकेको छ । नेटो राष्ट्रहरू हालको युद्ध रोकिने वा स्थिर हुने बित्तिकै रुसको ध्यान अन्य युरोपेली राष्ट्रहरूमाथि केन्द्रित हुन सक्ने चिन्तामा छन् ।

अबको प्रश्न— के रुस वास्तवमै युद्ध गर्नेछ वा नेटो राष्ट्रहरू रुसका विरुद्ध युक्रेनलाई सघाउन चालबाजी गरिरहेका छन् ? समयले नै उत्तर दिनेछ ।

 

 

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट