Techie IT
Samayabaddha
शनिबार, २१ चैत्र, २०८२

महाशिवरात्रिमा पशुपतिनाथ दर्शन गर्न आएका साधुसन्तलाई दुई सयदेखि नौ हजारसम्म दक्षिणा दिएर बिदाइ


काठमाडौं, १६ फागुन । महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेका हुन् । साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थान र कोषले गरेको थियो ।

गुठी संस्थान र कोषले साधुसन्तहरूको वर्गिकरण गर्दै त्यहिअनुसारको खर्चको व्यवस्था गर्दै आएको छ। नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी दक्षिणा दिने प्रचलन रहेको छ ।

वर्ग अनुसार दुई सय देखि ९ हजारसम्म दक्षिणा दिइएको गुठी संस्थानका सहायक प्रशासक बैकुण्ठ प्रसाद रेग्मीले जानकारी दिए । साधुसन्त बिदाइकै लागि गुठी संस्थानले छुट्याएको बजेटमा आधा रकम थप गर्दै कोषले साधुसन्तको विदाइ गर्ने गरेको उनले बताए।

महाशिवरात्रिमा पशुपतिनाथमा दर्शनका लागि आएका साधुसन्तलाई पशुपतिनाथको विभिन्न स्थानमा राखी खाने,बस्ने एवम् धुनीका लागि काठको व्यवस्था गरिएको थियो । महाशिवरात्रिका लागि विभिन्न स्थानबाट आएका साधुसन्तलाई फागुन कृष्ण औंसीका दिन दक्षिणासहित बिदाइ गर्ने प्राचीन परम्परा रहेको जनाइएको छ ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट