हिमपातले सडक र पैदल यात्रामा समस्या
रुकुमपूर्व । देशका हिमाली र उच्चपहाडी भेगमा हिमपात हुँदा कृषिबालीलाई फाइदा पुगेको छ भने सडक र पैदलमार्गमा समस्या भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीवारदेखि हिजोसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भेगमा हिमपात भएको छ ।
रुकुमपूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्गमा अलपत्र यात्रुको उद्धार गरिएको छ । अस्ति रातिदेखि परेको हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको लुकुम–पातिहाल्ना क्षेत्रमा रुकुमपश्चिमबाट काठमाण्डौका लागि छुटेका तीन वटा बससँगै अरु साना गाडीमा रहेका यात्रुको उद्धार गरिएको छ ।
हिमपातका कारण बाटो बन्द भएपछि अस्ति दिउँसोदेखि बस रुकुमपूर्व र बाग्लुङ सिमाना पार गर्न नसक्दा यात्रु अलपत्र अलपत्र थिए ।
हिजो दिनभरी मध्यपहाडी लोकमार्गमा भएको हिउँ पन्छाएर यात्रुको उद्धार गरिएको रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए ।
रुकुमपूर्वको लुकुम–पातिहाल्ना खण्डको लगभग पाँच किलोमिटर र बाग्लुङ खण्डको दुई किलोमिटरमा रहेको हिउँ पन्छाएर यात्रुको उद्धार गरिएको उनले बताए।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा हिउँ पन्छाइएको थियो । रुकुमपूर्व र बाग्लुङ सिमानामा वर्षेनि हिमपातका कारण लोकमार्ग अवरुद्ध हुने गरेको छ ।
यसैबीच सशस्त्र प्रहरी बलले गोरखाको साम्दो इलाकामा पर्ने पदमार्गमा यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया