Techie IT
Samayabaddha
मंगलबार, २५ कात्तिक, २०८२

विरोधपछि रोकियो नागढुंगा सुरुङमार्गको काम


काठमाडौं । धादिङको धुनिवेशी नगरपालिकाका स्थानीयले विरोध गरेपछि नागढुङ्गा सुरुङमार्गको काम रोकिएको छ ।

गत असोजको दोस्रो साता आएको बाढीको कारणले एक स्थानीयको घर चर्किएको थियो ।

सोही घरका धनीसहित अन्य स्थानीयले सोमबार सुरुङमार्ग निर्माणस्थलमै पुगेर काममा रोक लगाएका हुन् । उनीहरूले क्षतिपूर्ती माग पनि गरेका छन् ।

‘स्थानीयको विरोधपछि आज बिहानैबाट काम रोकिएको छ । स्थानीयहरूले सुरुङमार्ग आयोजनाको कारण घर चर्किएको भन्दै क्षतिपूर्ती माग गरिरहेका छन्,’ नागढुङ्गा सुरुङमार्ग आयोजनाका सिनियर डिभिज्नल इन्जिनियर सञ्जय पन्थीले भने, ‘यता ठेकेदार पक्ष जापानीज कम्पनी भने उक्त कुरा स्वीकार गरिरहेको छैन । हामीले विभागमा पनि जानकारी गराएका छौं तर काम अगाडि बढ्न सकेको छैन ।’

उनले विभागको तर्फबाट स्थानीयलाई छलफलमा बोलाए पनि विभागमा आउन मानेका छैनन् । बरु, उनीहरूले उल्टै घरमै आउन विभागका कर्मचारीलाई भनेका छन् ।

उनका अनुसार नागढुंगा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ८६ प्रतिशत बढी पुगेको छ । पन्थीका अनुसार अन्डरपास, बक्स कल्भर्ट र ओभरपास निर्माणको काम समेत सम्पन्न भइसकेको छ ।

आयोजना अन्तर्गत तीन वटा पुल बनिसकेका छन् । अब फ्लाईओभरको काम जारी छ । फ्लाईओभरको काम ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

टनेलभित्र फिनिसिङको काम जारी छ । जसले गर्दा भौतिक प्रगति ८६ प्रतिशत हाराहारी देखिन्छ । त्यस्तै, मेन टनेलको ब्रेक थ्रु १५ अप्रिल २०२४ मा भएको थियो । उद्धार टनेलको ब्रेक थ्रु भने ७ अगस्ट २०२३ मा गरिएको थियो ।

यो आयोजनाको अध्ययन सन् २०१४ मा भएको थियो । ०१६ मा स्रोत सुनिश्चित भएपछि २०१७ मा डिजाइनको काम सुरु भएको थियो । जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले यस आयोजनामा काम गरिरहेको छ । यो कम्पनी कोटेश्वर–सूर्यविनायक खण्ड विस्तार तथा बीपी राजमार्ग निर्माणमा समेत सफल भएको थियो ।

नागढुंगा सुरुङमार्गको डिजाइन जापान सरकारको सहयोगमा भएको हो । करबाहेक साढे १३ अर्ब रुपैयाँमा यो आयोजनाको ठेक्का लागेको हो । सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधारा चोक र सुरुङको मुख नजिकै फ्लाईओभर बनाइएको छ । गुर्जुधाराको फ्लाईओभर ६ सय १० मिटर लामो छ । सुरुङमार्ग र पहुँचमार्ग समेत गरी कुल लागत भने २२ अर्ब रुपैयाँभन्दा माथि छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट