ऐन हात नपरेसम्म शिक्षकहरु घर नफर्किने !

काठमाडौँ । विगत १५ दिनदेखि आन्दोलनरत शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने बताएका छन । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन लिएर मात्रै शिक्षकहरु घर फर्किने बताएको छ ।
नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले ऐन जारी नहुँदासम्म आन्दोलन नरोकिने बताए ।
सरकारले १२ गते १ बजेलाई संसद्को बजेट अधिवेशन बोलाएको छ ।
हिजो मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्नका लागि वैशाख १२ गते सङ्घीय संसद्को बैठक आह्वान गर्ने निर्णय गरेको छ ।
कक्षा १२ को वोर्ड परीक्षा र विद्यालय भर्नाको समय नजिकिएको बेला सरकारले शिक्षक महासङ्घले उठाएको मागप्रति ध्यानाकर्षण भएको भन्दै शिक्षकहरु विद्यालय फर्किन आव्हान गरेको हो ।
तर शिक्षक महासंघले मन्त्रीपरिषद्ले शिक्षकको मागहरुको सम्बोधन नगरी वैठक आव्हान मात्र गरेको भन्दै आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । शिक्षक महासंघले आन्दोलनलाई निरन्तरता दिन आज दिउँसो १२ बजेदेखि माइतीघर मण्डलामा भेला हुन आह्वान गरेको छ ।
शिक्षा मन्त्री विद्या भट्टराईले आज विशेष भिडियो सन्देश जारी गरी शिक्षकहरुको मागहरुलाई समेत सम्बोधन हुने गरी १२ गतेको संसद वैठक डाकिएको बताएकी छन् । मन्त्री भट्टराईले सरकारले छिटो संसद वैठक आव्हान गरेर आफूहरुको मागको सम्बोधन होस् भन्ने शिक्षकहरुको भनाईलाई ध्यानमा राखेर वैठक बोलाइएको बताउँदै शिक्षकहरुलाई कार्यस्थल फर्किन अनुरोध गरेकी छन् । मन्त्री भट्टराईले संसद वैठक डाक्नुलाई समेत शिक्षकहरुको मागको सम्बोधन भएको बताउँदै शिक्षकहरुसँग आफूहरु निरन्तर संवादमा रहेको र उहाँहरुसँग संवादको वातावरण बनोस् भनेर मन्त्रालयले सहजीकरण गर्न कोशिस गरिरहेको बताएकी छन् ।
उनको यो सन्देशलाई समेत शिक्षकहरुले अवेज्ञा गरेका छन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया