प्रधानमन्त्री ओलीसँग यूएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री एवम् विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा दुई देशबीचको आपसी मित्रवत् सम्बन्धका विविध पक्षका साथै व्यापार र लगानीका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले विकासको मार्गमा यूएईले गरेको तीव्र प्रगतिको प्रशंसा गर्दै नेपालमा जलविद्युत्, हरित ऊर्जा, हाइड्रोइनर्जी लगायत क्षेत्रमा लगानी विस्तारका लागि आग्रह गरे ।
उपप्रधानमन्त्री नाह्यानले यूएईका व्यवसायीहरूलाई नेपालको पर्यटन, ऊर्जा, कृषिलगायत क्षेत्रमा लगानी विस्तारका लागि प्रोत्साहन गर्ने बताए । नेपालको दुई दिने भ्रमणका लागि हिजो काठमाडौं आएका उनले नेपालसँग स्वतन्त्र व्यापार सम्झौता गर्न आफूहरू तत्पर रहेको उल्लेख गरे।
यस्तै प्रधानमन्त्री ओलीसँग भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले आजै शिष्टाचार भेटवार्ता गरेका छन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया