Techie IT
Samayabaddha
बुधबार, १७ वैशाख, २०८२

चिकित्सकलाई सरकारी आठौं तहको तलव सुविधा दिन निजी मेडिकल कलेजहरुलाई स्वास्थ्यमन्त्रीको निर्देशन


काठमाडौँ, ११ वैशख । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलव सुविधा दिन निजी मेडिकल कलेजहरुलाई निर्देशन दिएका छन्।

तोकेको सेवा सुविधा नपाएको भन्दै आवासीय चिकित्सक दुई हप्ता बढी देखि काठमाडौँमा आन्दोलित छन्। उनीहरूले आज स्वास्थ्यमन्त्रालय घेर्नसमेत पुगेका थिए।

त्यसपछि नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकका प्रतिनिधिहरुबीच मन्त्रालयमा वार्ता गर्दै पौडेलले निजी मेडिकल कलेजलाई चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।

उनले चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन नगरेसम्म निजी मेडिकल कलेजहरुलाई सरकारले दिने कुनैपनि सुविधा उपलब्ध नगराउने पनि बताए।

गत माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह .(आठौँ तह) को निर्वाह भत्ता मासिक ४८ हजार उपलब्ध गराउने निर्णय गरेको थियो।

आवासीय चिकित्सकको समान सुविधा कायम गर्ने निर्णय गर्दै उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको थियो। तर निजी मेडिकल कलेजहरुले उक्त निर्णय कार्यान्वयन नगर्दा आवासीय चिकित्सकहरु आन्दोलित भएका हुन्।

चिकित्सक अहिले पनि २०–२२ हजार मात्र निर्वाह भत्ता पाउने गरेका छन्।

मन्त्री पौडेलले आन्दोलन फिर्ता लिएर मुलुकको उपचारात्मक प्रणालीमा सहयोग गर्न समेत चिकित्सकहरुलाई आग्रह गरे। उनले चिकित्सा क्षेत्रका समस्या र चिकित्सकका मागहरुप्रति सरकार संवेदनशील भएको उल्लेख गर्दै समाधानको बाटोमा अघि बढ्ने आश्वासन दिए।

वार्तामा बोल्दै नेपाल नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले नेपालमा अध्ययनरत आवासीय चिकित्सकहरुलाई हप्तामा बढीमा ७२ घण्टा मात्रै काम गर्न लगाउन भनि मेडिकल कलेजको नाममा सर्कुलर जारी गर्न अनुरोध पनि गरे।

उनले आवासीय चिकित्सकहरुलाई बढी भन्दा बढी समय काम गराउने तर सरकारले तोकेको न्यूनतम ज्याला दिने नगरेको दुखेसो पोखे। उनले मन्त्रिपरिषद्बाट पारित भएको न्यूनतम तलब ४८ हजार दिनुपर्ने निर्णय नमान्ने मेडिकल व्यवसायीहरुले नैतिकताको हिसाबले समेत पदमा बसिरहनु उचित नहुने बताए।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट