काठमाडौं लगायतका ठाउँमा विहानैदेखि बर्षा, कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । आज बिहान तीन वटा प्रदेश कोशी, बागमती र गण्डकीका केही ठाउँमा पानी परेको छ ।
अहिले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसको प्रभावले बिहान कोशी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै ठाउँमा मेघगर्जन,चट्याङसहित हल्का वर्षा भएको मौसमविद् डेभिड ढकालले जानकारी दिए ।
आज दिउँसो पनि देशका पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसमविद् ढकालका अनुसार हिमाली थोरै ठाउँमा हिमपातको पनि सम्भावना छ । भोलिसम्म नै मौसम यस्तै रहने अनुमान छ ।
प्रि–मनसुनको यो बेलामा हावाहुरी, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने गर्दछ । यसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया