सुनसरीबाट ट्रकसहित ७ सय ८३ किलो गाँजा बरामद

काठमाडौं । सशस्त्र प्रहरी बलले सुनसरीबाट ७ सय ८३ किलो गाँजासहित ट्रक र दुई जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं.१ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा वेश धरानको संयुक्त टोलीले गाँजासहितको ट्रक र त्यसका चालक तथा सहचालकलाई पक्राउ गरेको हो ।
धरान उपमहानगरपालिका–१३ निशाने डाँडामा नम्बर प्लेट नभएको ट्रकलाई शङ्का लागि जाँच गर्दा ट्रकमा गाँजा फेला परेको हो । साथै ना ७ ख २८१ लेखिएको नम्बर प्लेट पनि भेटिएको छ ।
२२ वटा पोकामा लुकाइ ल्याउँदै गरेको अवस्थामा चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बस्ने ३१ वर्षीय मनोज परियार र सहचालक धनकुटाको सिदुवा नगरपालिका–६ बस्ने १८ वर्षीय आकाश राई पक्राउ परेका सशस्त्रका डीएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
पक्राउ परेका उनीहरु, बरामद गाँजा र ट्रक आवश्यक कारबाहीको लागि गएराति जिल्ला प्रहरी कार्यालय ईनरुवा सुनसरीमा बुझाइएको छ ।
यसअघि हिजो बिहान पनि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेश धनकुटाले ४ सय २१ किलो गाँजासहितको कार नियन्त्रणमा लिएको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया