‘ग्लोबल आईएमई एआई/एमएल ह्याकाथन’ कार्यक्रम सम्पन्न

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेशिन लर्निङ (एमएल) सम्बन्धी ‘ग्लोबल आईएमई एआईरएमएल ह्याकाथन’ कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतलगायत उच्च व्यवस्थापकसहित विभिन्न संस्थाको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
बैंकले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई लक्षित गर्दै सम्भावित नवीनतम प्रविधिमा आधारित बैंकिङ सेवाहरूको विकासका लागि यो प्रतियोगिता सञ्चालन गरेको हो ।
यस प्रतियोगितामा २१ वटा टोलीलाई अनलाइन पेपर प्रस्तुतिका लागि छनोट गरीएको थियो । प्रतियोगी टोलीहरू विभिन्न ठाउँ– काठमाडौं, महेन्द्रनगर, पोखरा, वीरगञ्ज, काभ्रे, धरानबाट सहभागी भएका थिए ।
सहभागी टोलीहरूमध्ये टिम क्याल्कुलुसले प्रतियोगिताको प्रथम पुरस्कार स्वरूप १ लाख रुपैयाँ जित्न सफल भएको छ । यस्तै दोस्रो हुने डब्ल्यूडीकेले ७५ हजार, तेस्रो हुने लार्के पासले ५० हजार, चौथो हुने टिम जनकपुर र पाँचौं हुने टिम फ्रडेक्सले १५–१५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । साथै वेस्ट प्रिजेन्टेसन विधाअन्तर्गत बैंकले डिजीविट्सलाई १५ हजार रुपैयाँको पुरस्कारबाट पुरस्कृत गरेको छ ।
प्रतियोगिताका विजेता टोलीहरूलाई राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रले पुरस्कार रकम हस्तान्तरण गरे ।
नेपालमा पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेशिन लर्निङ (एमएल) सम्बन्धी ह्याकाथन सञ्चालन गरेकोमा डेपुटी गभर्नर मिश्रले आयोजक ग्लोबल आईएमई बैंकलाई धन्यवाद दिए । यस किसिमका प्रतियोगिताले युवा तथा विद्यार्थीहरूलाई अवसर प्रदान गर्नुका साथै बैंकका सेवा तथा सुविधाहरूमा नवीनतम प्रविधिको प्रयोग अझ प्रभावकारी भई सेवाको पहुँच विस्तार हुने विश्वास नेपाल राष्ट्र बैंकले लिएको डेपुटी गभर्नर मिश्रले जानकारी दिए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवा र यसको चुनौतिहरूको समाधानका लागि सहयोग पुग्नुका साथै नवीनतम सेवाहरूको विकासमा सहयोग पुग्ने विश्वास बैंकले लिएको जानकारी दिए । यस प्रतियोगिताको उत्कृष्ट टोलीहरूलाई बैंकले सहकार्य गर्ने अवसर प्रदान गर्नेसमेत उनले बताए ।
बैंक प्रविधि अनुकूल वित्तीय सेवाहरू प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको र डिजिटल बैंकिङ सेवाहरुलाई थप प्रभावकारी बनाउन नवीनतम धारणाहरूलाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्त्वपूर्ण भूमिका खेल्ने ग्लोबल आईएमईको विश्वास छ ।
प्रतियोगितामा सहभागिता हुन विभिन्न टोलीहरूले बैंकको वेबसाइटमार्फत आवेदन दरखास्त गरेका थिए । यस ह्याकाथन प्रतियोगिता दुई चरणमा सञ्चालन भएको थियो । पहिलो चरणमा कोडिङ्ग र दोस्रो चरणमा अनसाइट ह्याकाथन भएको हो ।
ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आईएमई बैंक देशको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्शन तथा राजस्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्र छन् ।
बैंकले विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया