तीनवटा मौसमी प्रणाली एकैपटक सक्रिय : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। कैलाली, बाँके, बर्दियालगायतका केही ठाउँमा बिहानैदेखि पानी परिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानहरूमा, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
देशका हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया