Techie IT
Samayabaddha
सोमबार, २२ वैशाख, २०८२

नीति तथा कार्यक्रमले देशको वर्तमान अवस्था र आवश्यकतालाई सम्बोधन गरेन : नारायणकाजी श्रेष्ठ


काठमाडौँ, २२ वैशाख । नेकपा (माओवादी केन्द्र) का सांसद नारायणकाजी श्रेष्ठले सरकारको नीति तथा कार्यक्रमले जनतामा आशा र विश्वास पैदा गर्न नसकेको आरोप लगाएका छन्।

सोमवार राष्ट्रियसभा बैठकमा सरकारले प्रस्तुत गरेको आव ०८२/८३ को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले यस्तो आरोप लगाएका हुन्।

उनले नीति तथा कार्यक्रमले देशको वर्तमान अवस्था र आवश्यकतालाई सम्बोधन नगरेको बताए। नीति तथा कार्यक्रममा समस्या समाधान गर्ने कुनै पनि ठोसपन नभएको उनले बताए।

देशको आवश्यकतालाई सम्बोधन गर्नेगरी आफ्नो पार्टीको विगतको सरकारले क्रमभंगताको दिशामा पहल गरेको भए पनि अहिलेको नीति तथा कार्यक्रम यथास्थितिवादलाई निरन्तरता दिएको उनले बताए। उनले नीति तथा कार्यक्रमलाई परम्परागत निबन्धको संज्ञा दिए।

‘सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रमले देशको वर्तमान अवस्थालाई सम्बोधन गर्न सकेको छैन र त्यसदिशातर्फ समाधानमुखी, गम्भीरता, स्पटता र ठोसपन पनि यसमा छैन। हामीले यसअगाडि राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने गरी केही क्रमभंगताको दिशातिर ठोस पहलकदमी गरेका थियौँ‚’ उनले भने, ‘आवश्यकता त्यस किसिमको क्रमभंगतालाई निरन्तरता दिनु थियो तर यसले पछाडि फर्किएर यथास्थितिवादलाई निरन्तरता दिएको छ। त्यसकारण यो नीति तथा कार्यक्रम वक्तव्य यथास्थितिलाई निरन्तरता दिने परम्परागत निबन्धको रुपमा आएको छ। यसले कुनै आशा र विश्वास पैदा गर्न सकेको छैन।’

सांसद श्रेष्ठले अङ्कको हिसाबले वर्तमान सरकार वैधानिक भए पनि औचित्य गुमाउँदै गएको सरकारको नीति तथा कार्यक्रम भएकाले गम्भीरतापूर्वक छलफल गर्न आवश्यक नभएको जिकिर गरे।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट