Techie IT
Samayabaddha
मंगलबार, २ असार, २०८३

खेमराज सेढाईंंलाई पक्राउ गरिएपछि राजावादी समूहको घोर आपत्ति


काठमाडौं । गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोपमा सोमबार खेमराज सेढाईं पक्राउ परेपछि संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले घोर आपत्ति जनाएको छ ।

समितिका संयोजक नवराज सुवेदीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

‘संयुक्त जनआन्दोलन समितिका सल्लाहकार खेमराज सेढाईलाई आज प्रहरीले बिना कारण पक्राउ गरेकोमा यो संयुक्त जनआन्दोलन समिति घोर आपत्ति प्रकट गर्दछ,जारी प्रेस विज्ञप्तिमा भनिएको छ,मुटु तथा अन्य रोगबाट पीडित ७२ वर्षीय सेढाईं पूर्वप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईका राजनीतिक सल्लाहकार हुँदै हालसम्म राष्ट्र राष्ट्रियता र धर्म संस्कृतिको रक्षार्थ विभिन्न वौद्धिक क्रियाशीलतामार्फत सक्रिय व्यक्तित्व हुनुहुन्छ । उहाँले आफ्नो नियमित सेवन गर्ने औषधि घरमा भएकोले कम्तिमा औषधि लिन घरसम्म पुर्‍याएर मात्र नियन्त्रणमा लिन अनुरोध गर्दा समेत अमानवीय रुपमा गरिएको पक्राउको हामी घोर निन्दा गर्दर्छौँ ।’

‘तीनकुने प्रदर्शनमा सेढाईंको संलग्नता बताइए पनि उनी राष्ट्रगान गाइरहेको अवस्थामा अश्रुगोली वर्षा खप्न नसकी मञ्चबाट सहयोगीहरुद्वारा बचाउ गरी बाहिर निकालिनु भएको थियो । सो राज्य आतङ्कमा उहाँको कुनै पनि संलग्नता समेत नरहेको पनि जानकारी गराइन्छ,’जारी विज्ञप्तिमा अगाडि भनिएको छ ।
हिरासतमा रहेका बन्दीहरुलाई तत्काल रिहाइका लागि माग समेत गरिएको छ ।

तीनकुने घटनामा संलग्न रहेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र,दुर्गा प्रसाईं लगायत प्रहरी हिरासतमा छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट