Techie IT
Samayabaddha
मंगलबार, २३ वैशाख, २०८२

जनतासँग जोडिन माओवादीका निरन्तर ‘अभियान’


गत २०७९ सालको आमनिर्वाचनको नतिजा निकै नाजुक भएपछि नेकपा (माओवादी केन्द्र) बिभिन्न अभियान थालेर जनताका बीचमा पुगिरहेको छ । आफूहरू सहर र सत्तामा केन्द्रित हुँदा जनतासँगको सम्बन्ध बिग्रिएको भन्दै उक्त सम्बन्धलाई प्रगाढ र जिवन्त बनाउन माओवादी जनताको घर दैलोमा गएर दुःख, पीडाका आवाज सुन्ने काम गरेको माओवादीको दाबी छ ।

२०८० साउनमा बसेको माओवादीको केन्द्रीय समितिको बैठकमा प्रचण्डले आफू बिग्रिएको भन्दै अव सच्चिने बाचा समेत गरेका थिए । जनतासँग जोडिन र जनतालाई माओवादीप्रतिको आत्मियता पुनर्ताजगी गराउन तत्कालीन बैठकले तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ घोषणा गरेको थियो । उक्त अभियानमा अध्यक्ष प्रचण्डदेखि सबै केन्द्रीय सदस्यहरू वडावडामा पुगेर जनतासँग जोडिएका थिए । कतिपय नेताहरूले श्रमदान, विकास निर्माणलगायतका काममा प्रत्यक्ष सामेल भएका थिए । त्यतिबेला माओवादी केन्द्र सत्तामै थियो । अध्यक्ष प्रचण्ड देशको प्रधानमन्त्री थिए ।

गत पुसमा सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले तराई मधेस हुलाकी मार्ग, मध्य पहाडी लोकमार्गमा अभियान चलाउने निर्णय गर्यो । फागुन १२ गते झापाबाट सुरु भएको हुलाकी मार्ग केन्द्रित अभियान वैशाख १७ कञ्चनपुरमा पुगेर समापन पनि भइसकेको छ ।

यस्ता बिभिन्न अभियानहरूबाट हौसिएको माओवादीले अझ जनतासँगको सम्बन्धलाई निकट र दर्बिलो बनाउन फेरि ‘मध्य पहाडी लोकमार्ग अभियान’ सञ्चालन गर्ने निर्णयमा पुगेको छ । पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आइतबार बसेको पदाधिकारी बैठकले आगामी जेठ २ गतेदेखि ‘मध्य पहाडी लोकमार्ग अभियान’ सुरु गर्ने निर्णय गरेको  हो । यसअघि ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएको माओवादीको दाबी छ । यसअघिका अभियान सोचेभन्दा बढी उपलब्धिपूर्ण भएको निष्कर्ष माओवादीले निकालेको छ ।

अभियानकै क्रममा अध्यक्ष प्रचण्डसहितका कतिपय नेताहरू जिल्ला, प्रदेश र पालिकामा जाँदा जनयुद्धका सहिद, बेपत्ता, घाइते परिवारको घरमा पुगेर, त्यहीँको स्थानीय खाना खाएर जनताकै घरमा बसेका तस्बिर र भिडियोहरू पनि सामाजिक सञ्जालदेखि बिभिन्न सञ्चारमाध्यममा समाचार बनेर प्रकाशित/प्रसारित पनि भए । कहिले केराको पातमा खाने त कहिले सडकका छेउमा पकाइएका भक्कालगायतका परिकार पनि नेताहरूले खाएका छन् । यसले जनतासँगको सम्बन्धमा सेतुको काम त गरेको होला तर आफ्नो घरमा नेता आउँने भएपछि घरधनीले कति ऋण गरेर वा भए नभएको रकम जोहो गरेर मिठा परिकार बनाए होलान् ? ती परिकार बनाउन कति रकम खर्च भयो होला ? यसबारे पनि माओवादीले सोचबिचार गरेर उनीहरूलाई उचित रकम दिँदा झन राम्रो हुन्थ्यो कि ! किनकि माओले भनेका छन्, ‘जनतासँग सियो पनि नलिई जनताको सेवा गर ।’

जेहोस, यस्ता अभियानले जनतामा जोडिन सकारात्मक नै काम गरेको छ । तर, कम खर्चिलो, स्थानीय जनपरिचालनमा जोड, केन्द्रबाट नै ठूलो टिम सबै ठाउँमा पुगेर खर्च बढाउने कार्यलाई आगामी अभियानमा नगर्दा राम्रो हुने थुप्रै नेता तथा कार्यकर्ताहरूको सुझाव छ ।


क्याटेगोरी : बिचार, राजनीति

प्रतिक्रिया


ताजा अपडेट