Techie IT
Samayabaddha
शनिबार, २७ वैशाख, २०८२

मकवानपुरको कमानेमा सुमोको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते


मकवानपुरगढी, २७ वैशाख । मकवानपुरको हेटौंडा उपमहानगरपालिका –८ कमानेमा सुमोको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएका छन् ।

शनिबार बिहान अन्दाजी ९ः५० बजेको समयमा कमाने मास्टर चोकनजिक पूर्व पश्चिम सडक खण्डमा काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको ना. १ ज.६९६४ नम्बरको सुमोले पैदलयात्री बाराको जितपुर सिमरा उपमहानगरपालिका –२१ बस्ने अन्दाजी ५५ वर्षे जयबहादुर मोक्तानलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरीका अनुसार घाइते मोक्तानलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा बिहान १०ः५० बजेको समयमा पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको छ ।

घाइते मोक्तानको शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यस्तै, सुमो चालक पर्साको बहादुरमाई नगरपालिका –९ बस्ने वर्ष २४ को सन्तु राउत कुर्मी र सुमो प्रहरीको नियन्त्रणमा रहेका छन् ।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट