नेता परिवर्तन गर्ने नभइ जनताको सोचमा परिवर्तन हुन जरुरी छ : सभामुख घिमिरे

काठमाडौँ, २७ वैशाख । सभामुख देवराज घिमिरेले नेता परिवर्तन गर्ने नभइ जनताको सोचमा परिवर्तन हुन जरुरी रहेको बताएका छन् ।
शनिवार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौति र समाधान विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यथार्थ के हो भन्ने बारे नेपाली जनताहरूले हेर्ने काम कम भइरहेको बताए।
उनले कसैले बनाएको एउटा धारणालाई सही र गलत नछुट्याइ अघि बढ्ने परिपाटी विकसित भइरहेकोप्रति चिन्ता व्यक्त गरे। उनले यथार्थलाई बुझ्ने,बुझाउने र त्यसलाई लिएर अगाडि बढ्ने मानसिकता कम हुँदै गएको बताए।
जनताको सोचमा परिवर्तन आउनुपर्ने समय आएको उनको भनाइ थियो। जनताको सोच व्यवहारमा परिवर्तन हुन नसक्दा र कुप्रचारले महत्व पाएकोले सही विषय पनि गलत देखिन थालेको बताए ।
नेताको परिवर्तन प्रणालीले नै गरिरहेको पनि सभामुख घिमिरेले बताए।
सभामुख घिमिरेले भने, ‘काठमाडौँको चैत्र १५ गतेको बिरोध प्रदर्शनको हत्या, हिंसा, आगजनी, लुटपाट, चोरी डकैतीको कुरालाई लिएर अहिले चर्चा छ । नेताकोबिरुद्धमा र अहिलेको प्रणाली वा नीतिको बिरुद्धमा अभियान छ । यो संसदीय प्रणाली वा शासन प्रणालीकोबिरुद्धमा चर्चा चलिरहँदाखेरी एक जना कलाकारले नेता परिवर्तन होइन, जनता परिवर्तन गर्नुपर्छ भन्नेकुराहरू उठाएको छ । मलाई पनि त्यो कुराहरु सोच्नुपर्छ भन्ने लाग्छ ।’
सभामुख घिमिरेले अहिले राजनीतिमा अस्थिरता रहेको बताए। देशमा बढिरहेको प्रणालीबिरुद्धको अभियानलाई जनताले निगरानीका साथ हेर्नुपर्ने र सजगताका साथ व्यवहार गर्नुपर्ने आवश्यकता रहेको बताए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया