Techie IT
Samayabaddha
आईतबार, १४ भदौ, २०८३

हुलाक बचत बैँकको पाँच करोड ३५ लाख अनियमितता, छ जनाविरुद्ध मुद्दा दायर


काठमाडौँ, ३० वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख जयलालप्रसाद साह कानूसहित छ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले २०६० सालदेखि हुलाक बचत बैँकको जिम्मा लिँदै आएकाहरूले बचतकर्ताको रकमको अभिलेख नराखी आफूखुसी अपचलन गरेको अनुसन्धानका क्रममा पाइएकाले मुद्दा दायर गरिएको जनाएको छ ।

उनीहरुले बैँकमा जनताको निक्षेप सङ्कलन गरी बचतकर्ताको पासबुक, लेजरमा मात्रै प्रविष्ट गरेको र कार्यालयको नगदी रजिष्टरमा नराखेको, बैँक दाखिला नगरी आफूखुसी बाँडफाँड गरी अपचलन गरेको अनुसन्धानका क्रममा पाइएको आयोगको ठहर छ ।

जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन प्रमुख जयलालप्रसाद साह कानू, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव, सुजितकसुमार साह, तत्कालीन नासु बलिरामप्रसाद कुर्मीलगायतले पाँच करोड ३५ लाख ६४ हजार २७९ बराबरको रकम हिनामिना गरेको आयोगको अभियोग छ ।

उनीहरूविरुद्ध कैद, जरिवाना र बिगोसमेत असुल उपरको गरी पाऊँ भन्दै आयोगले मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट