Techie IT
Samayabaddha
मंगलबार, ३० वैशाख, २०८२

‘सिनेपा’ को निर्माण आरम्भ : चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति– प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक ‘इन्डोर’ छायाङ्कन स्टुडियो निर्माण आरम्भ हुनु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा चलचित्र विकास बोर्डद्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चलचित्र क्षेत्रको मागबमोजिम अब काभ्रेको बनेपामा स्टुडियो बन्ने बताए । उनले चलचित्रकर्मीले झन्डै ६ दशकदेखि उठाउँदै आएको माग सम्बोधन हुने प्रक्रियामा रहेको पनि बताए ।

प्रधानमन्त्री ओलीकै पहिलो कार्यकालमा यो स्टुडियो निर्माण गर्ने निर्णय भए पनि जग्गा विवाद र सरकार परिवर्तनलगायत विविध कारणले काम अवरुद्ध भएको थियो । त्यस बेलाको जति अहिले राज्यको ढुकुटीमा पैसा छैन तर पनि थालेका काम हामी पूरा गर्छौँ । यसका लागि बजेट विनियोजन हुन्छ । काम थालेपछि सफल हुन्छ । यो निर्माण आरम्भ उद्घोषले यस क्षेत्रमा युग परिवर्तन शुरू भएको छ, प्रधानमन्त्री ओलीले भन्नुभयो, ओरालो लागेको अर्थतन्त्रलाई हामीले लयमा ल्याएका छौँ, अब यो अर्थतन्त्रको गाडी त्रिशूलीमा खस्दैन । हामी सिने क्षेत्रप्रति सधैँ सकारात्मक र सहयोगी छौँ ।

बालाजुमा रहेको नेपाल चलचित्र विकास कम्पनीको जग्गा हिनामिना भएको भन्ने सम्बन्धमा सञ्चारमन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री ओलीले १० दिनभित्र त्यसको छानबिन गरी प्रतिवेदन दिन निर्देशन दिए । उनले राजनीतिमा कतिपयले अभिनय गर्न थाले पनि आफूहरू राजनीतिलाई यथार्थमा बदल्ने साधनका रूपमा लिएर काम गरिरहेको स्पष्ट गरे ।

 


क्याटेगोरी : मनोरञ्जन, समाचार

प्रतिक्रिया


ताजा अपडेट