कतारका विशेष दूतसँग विपीनको रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं, ३ जेठ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपन सम्बन्धी विशेष दूतसँग विपीन जोशीको अवस्था र स्वदेश फिर्तीका बारेमा थप पहल गरिदिन आग्रह गरेकी छन् ।
सगरमाथा संवादमा सहभागिताका लागि काठमाडौं आएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफासँग शुक्रबार भएको भेटमा मन्त्री डा. राणाले उक्त आग्रह गरेकी हुन् ।
परराष्ट्रमन्त्री डा. राणासँग भएको शिष्टाचार भेटका क्रममा हमासको अपरहणमा परेका नेपाली युवक विपीनको अवस्थाका बारेमा कुराकानी भएको थियो ।
राणाले विपीनको रिहाइ र नेपाल फिर्तीका लागि निरन्तर पहल जारी राखेकोमा आभार व्यक्त गर्दै रिहाइका लागि थप पहल गरिदिन पुनः आग्रह गरिन् ।
मन्त्री डा. राणाले कतारका विदेशमन्त्री तथा इजरायलसँग हमासको शान्ति वार्ताका प्रमुख मध्यस्थकर्तासँग विपीनको रिहाइका लागि आवश्यक पहल गरिदिन बारम्बार आग्रह गर्दै आएकी छन् ।
सन् २०२३ देखि नै हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीनको रिहाइ र स्वदेश फिर्ताको लागि सहयोग गर्न मन्त्री राणाले विश्व समुदायसँग आग्रह गर्दै आएकी छन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया