जापानकी उपविदेशमन्त्रीसँग प्रधानमन्त्री ओलीको शिष्टाचार भेट

काठमाडौँ, ३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादमा सहभागी हुने सिलसिलामा यहाँ रहेकी जापानकी उपविदेशमन्त्री इक्युना आकिकोले आज शिष्टाचार भेट गरेकी छिन्।
प्रधाननमन्त्री निवास, बालुवाटारमा आज अपराह्न भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच सुमधुर सम्बन्ध रहेको चर्चा गरे। उनले वर्तमानमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या सबैको चासोको विषय भएको बताउँदै सगरमाथा संवाद आयोजना गरिएको उल्लेख गरे।
संवादमा जापान सरकारको नेतृत्व गरेर सहभागी भएकोमा उपमन्त्री इक्युनालाई धन्यवाद दिए। प्रधानमन्त्री ओलीले अनुकूल पूर्वाधार निर्माण, वातावरणीय दिगोपन र विपद् जोखिम न्यूनीकरणमा जापानी अनुभव नेपालका लागि उपयोगी हुने बताए।
उपमन्त्री इक्युनाले आर्थिक विकास, शिक्षा, मानव संसाधन विकास र वातावरण एवं संस्कृति संरक्षणमा जापानका तर्फबाट सहयोग निरन्तर रहने बताइन्। त्यस अवसरमा नेपालका लागि जापानका राजदूत माइदा तोरु तथा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया