यी प्रदेशमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले आज पनि विभिन्न ठाउँमा पानी पर्ने मौसमविदले बताएका छन् ।
अहिले पनि सबै प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । सबैभन्दा धेरै पानी सिराहामा परेको छ ।
पहाडी भू–भागको थोरै ठाउँहरूमा र बाँकी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक दुई ठाउँमा हिमपातको पनि सम्भावना छ ।
मधेश, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
प्रि–मनसुन प्रणाली सक्रिय रहेको अहिलेको अवस्थामा वर्षा र हावाहुरीका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा यसको असरबाट बच्न सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया