Techie IT
Samayabaddha
आईतबार, ११ जेठ, २०८२

भिजिट भिसा प्रकरणः बयान सुरु नहुँदै गृहमन्त्री लेखकलाई बदनाम गर्ने अभियान ?


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागमा देखिएको अव्यवस्थालाई सुधार गर्न गृहमन्त्री रमेश लेखकले गत हप्ता स्थलगत निरीक्षण गरेपछि सो विभाग फेरि विवादमा तानिएको छ । तर, यसपटक विवादको केन्द्रमा अध्यागमन विभागभन्दा बढी स्वयं गृहमन्त्री लेखक नै परेका छन् ।

गत जेठ ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका प्रमुख सहसचिव तीर्थ भट्टराईलाई सोधपुछका लागि बोलाएको थियो । त्यसअघि नै गृह मन्त्रालयले उनलाई विभागीय जिम्मेवारीबाट हटाउँदै मन्त्रालयमै तानेको थियो । भट्टराईमाथि अनुसन्धान सुरु नहुँदै अख्तियारले उनलाई नियन्त्रणमा लिएको छ भने उनका मोबाइल, ल्यापटप लगायतका उपकरण पनि बरामद गरिएको छ ।

तर, अनुसन्धान प्रक्रिया औपचारिक रूपमा सुरु हुन नपाउँदै सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा ‘भिजिट भिसा’का नाममा दैनिक ५० लाख रुपैयाँसम्म असुली हुने गरेको र सो रकम गृह नेतृत्वसम्म पुग्ने गरेको आरोप सार्वजनिक गरियो । तर, यी दाबीहरू अहिलेसम्म पुष्टि भएका छैनन् ।

अनुसन्धान अगाडि नबढ्दै प्रचार अभियान

पाँच दिन बितिसक्दासमेत भट्टराईमाथिको औपचारिक बयान सुरु भएको छैन भने बरामद गरिएका उपकरणहरू प्राविधिक परीक्षणको चरणमै छन् । तर, अनुसन्धानभन्दा अघि नै गृहमन्त्री लेखकमाथि आरोप जोड्दै नियोजित प्रचारबाजी सुरु भएको देखिन्छ ।

गृह मन्त्रालयले गृहमन्त्री लेखकमाथि नियोजित रुपमा भ्रम फैलाउने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ । स्रोतहरूका अनुसार लेखकको चरित्र हत्या गरी उनको राजनीतिक भविष्य समाप्त पार्ने योजना सक्रिय रूपमा अघि बढाइएको छ ।

कानुनी सुधारमा सक्रिय मन्त्री, राजनीतिक स्वार्थमा चोट

गृहमन्त्री बनेदेखि लेखकले प्रहरीको सरुवा–बढुवा प्रणालीमा पारदर्शिता ल्याउने, विभिन्न विधेयकहरू प्रतिनिधिसभामा पुर्‍याउने र शान्ति–सुरक्षा कायम गर्ने कार्यमा सक्रियता देखाउँदै आएका थिए । कानुनी पृष्ठभूमि भएका शालीन र सुसंस्कृत नेताको रूपमा परिचित लेखकको यो सक्रियता भित्रभित्रै कतिपय नेताहरूका लागि असहज बन्दै गएको देखिन्छ ।

कांग्रेसभित्रै केही नेताहरू लेखकको बढ्दो प्रभावप्रति असन्तुष्ट रहेको बुझिएको छ । गृह मन्त्रालयभित्र सुधार ल्याउने लेखकको प्रयासले प्रशासनभित्रका विचौलिया र अवैध लाभ लिने समूह पनि असन्तुष्ट बनेका छन् ।

कसको निशानामा छन् लेखक ?

गृहमन्त्रीको रूपमा लेखकले नयाँ दलका शीर्ष नेताहरूलाई कानूनी कठघरामा ल्याउने, हिंसात्मक गतिविधिमा संलग्न समूहमाथि कठोर कदम चाल्ने जस्ता निर्णय गरेपछि विभिन्न शक्तिशाली पक्षले उनलाई निशानामा लिएको अनुमान गरिएको छ ।

पार्टीभित्र पनि उनले बनाएको राजनीतिक उचाइप्रति इर्ष्या राख्ने समूह सक्रिय रहेको आँकलन गरिन्छ । उनी नेतृत्वमा रहँदा भएका ‘शेरादरबार काण्ड’, सहकारी प्रकरण र सम्पत्ति जफत जस्ता मुद्दामा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न समूहहरू अहिले प्रतिशोधस्वरूप भ्रम फैलाउने अभियानमा देखिन्छन् ।

शेखरको राजीनामा मागप्रति आक्रोश

कांग्रेसका नेता शेखर कोइरालाले जेठ १० गते विराटनगरमा पत्रकारहरूसँगको कुराकानीमा गृहमन्त्री लेखकको राजीनामा माग गरे । तर, अनुसन्धान पूरा नहुञ्जेल मन्त्रीमाथि निष्कर्षमा पुग्न नहुने भन्ने दलभित्रैको मान्यता विपरित यस्तो अभिव्यक्तिले उनीप्रति असन्तोष चुलिएको छ ।

कांग्रेसकै वरिष्ठ नेता कृष्ण सिटौलाले भने सोही दिन विराटनगरमै प्रतिक्रिया दिँदै मन्त्रीले होइन, गल्ती गर्ने कर्मचारीलाई कारबाही गर्ने प्रक्रियामा अख्तियार अघि बढिरहेको बताएका थिए । उनले प्रमाणबिना राजीनामा माग्नु अनुचित भएको बताए ।

लेखकको प्रतिबद्धता

गृहमन्त्री लेखकले आफूमाथि कुनै पनि आरोप प्रमाणित भएमा पद मात्र होइन, राजनीतिबाटै अलग हुने घोषणा गरिसकेका छन् । उनले भिजिट भिसा प्रकरणको विस्तृत विवरण आगामी प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्ने प्रतिबद्धता जनाएका छन् ।

घटनाको निष्पक्ष छानबिन आवश्यक छ । कुनै व्यक्तिमाथि प्रमाणबिना आरोप लगाउने प्रवृत्तिबाट लोकतान्त्रिक राजनीति र स्वतन्त्र पत्रकारिता दुबैमा गम्भीर क्षति पुग्ने खतरा रहन्छ ।

यो पनि पढ्नुहोस, गृहमन्त्री लेखकमाथि कांग्रेसभित्र दुई धार: महाधिवेशनअघि शक्ति संघर्षको छायाँ

देउवाले बोलाए पदाधिकारी बैठक, गृहमन्त्रीको राजीनामा माग्ने तयारीमा शेखर प्यानल


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट