गृहमन्त्रीलाई मार्ग प्रसस्त गर्न माओवादीको सुझाव, निर्दाेष रहेको कांग्रेसको ठहर !

काठमाडौँ । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा विवादमा मुछिएका रमेश लेखकलाई राजीनामा दिन सुझाव दिएको छ ।
सोमबार बसेको माओवादी पदाधिकारी बैठकले प्रश्न उठेकाले गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्न उचित हुने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले बताए ।
उता सत्तारुढ नेपाली कांग्रेसले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता कतैबाट पुष्टि नहुने भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएका भरमा राजीनामा दिन नहुने निष्कर्ष निकालेको छ ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको पदाधिकारी बैकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता डा। प्रकाशशरण महतले यो प्रकरणमा गृहमन्त्री निर्दोष रहेको बताएका हुन् । उनले अध्यागमनमा भएको अख्तियारको छापामारी र त्यसपछिका कुराहरू संसदभित्र र बाहिर गृहमन्त्रीले प्रष्ट पार्ने बताए ।
शेखर कोइरालालगायतका केही नेताले कुरै नबुझी गृहमन्त्रीको राजीनामा माग गरेकोमा कांग्रेस बैठकमा आलोचना भएको महतले जानकारी दिए । उनले बैठकले शेखर लगायतका नेताहरूलाई जथाभावी नबोल्न निर्देशन गरेको पनि बताए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया