Techie IT
Samayabaddha
बिहीबार, १५ जेठ, २०८२

संसदमा प्रतिपक्षद्वारा अवरोध: गृहमन्त्री रमेश लेखकको राजीनामा माग


काठमाडौँ जेठ १३: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालय जोडिएको भन्दै प्रमुख प्रतिपक्षी दललगायतका सांसदहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै आज प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन्। प्रतिपक्षले निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने र उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने अडान लिएको छ।

प्रतिनिधिसभाको आजको बैठक सुरु हुने बित्तिकै विपक्षी सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनलाई बोल्न समय दिएका थिए।

सांसद पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको दायरामा राखेको विषयमा गृहमन्त्री रमेश लेखकको सचिवालय पनि जोडिएको देखिएको बताए। उनले यस विषयमा निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग गरे। “गृहमन्त्रीज्यूको सचिवालय जोडिएको कुरा आइरहेका छन्। उहाँमाथि र उहाँको सचिवालयमाथि आरोप लागेपछि उहाँले निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गरिदिनुपर्छ। र घटनाको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग बन्नुपर्छ। त्यो नहुँदासम्म संसद् चल्न सक्दैन,” पुनले भने।

पुनको भनाइ सकिएपछि पनि विपक्षी सांसदहरू आ-आफ्नो स्थानबाट उठिरहेका थिए। त्यसपछि सभामुख घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाललाई बोल्न समय दिए। सांसद खनालले पनि गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने माग गर्दै उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नसक्ने बताए।

त्यसपछि सभामुखले नेपाली कांग्रेसका सांसद श्याम घिमिरेलाई बोल्न समय दिने बित्तिकै विपक्षी सांसदहरूले नाराबाजी सुरु गरेका थिए। सदनमा नाराबाजी बढेपछि सभामुख घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन्। यस प्रकरणले संसदको आगामी बैठकहरूमा पनि गतिरोध कायम रहने संकेत दिएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट