Techie IT
Samayabaddha
शुक्रबार, २३ जेठ, २०८२

मध्य पहाडी लोकमार्ग अभियान स्थगित, उपत्यका जागरण अभियानमा माओवादी !


काठमाडौँ । नेकपा माओवादी केन्द्रको पूर्वनिर्धारित मध्य पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान स्थगित भएको छ । जेठ १६ गते बसेको माओवादीको पदाधिकारी बैठकले जेठ २१ देखि २५ गतेसम्म दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

तर मौसम विभागले पहाडी क्षेत्रमा अत्याधिक पानी पर्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेका कारण अभियान स्थगित भएको केन्द्रीय कार्यालय मुख्य सचिव गणेशमान पुनले जानकारी दिए ।

‘कोशी प्रदेश लगायत मध्य पहाडी लोकमार्ग अन्तर्गत अत्याधिक पानी पर्ने सम्भावना रहेको मौसम विभागले जानकारी गराएको छ । धेरै ठाउँमा सडकहरू भत्किएका छन् । यी सबैलाई ध्यानमा राखेर आजदेखि २५ गतेसम्म हुने भनिएको अभियान हालका लागि स्थगित गरिएको छ’ पुनले भनेका छन् ।

‘उपत्यका जागरण अभियान’ शुरु

माओवादी केन्द्रले काठमाडौं उपत्यकालाई केन्द्रमा राखेर ुउपत्यका जागरण अभियानु सुरु गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो जेठ २० गते चन्द्रागिरीको थानकोटबाट अभियानको औपचारिक उद्घाटन गरेका हुन्। यसअघि तराई(मधेश हुलाकी राजमार्ग र मध्यपहाडी राजमार्ग केन्द्रित अभियान सञ्चालन गरिसकेको माओवादीले यसपटक उपत्यकालाई त्यसमा पनि नेवार र तामाङ समुदायलाई लक्षित गरी अभियानको शुरुवात गरेको हो । यो अभियान १ महिनमा चल्ने बताइएको छ ।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले माओवादीलाई जनतासँग फेरि जोड्न सकिएन भने पार्टी यथास्थितिमा थलिने चेतावनी दिए। “जनतासँग नफर्की, जनतासँग नजोडीकन यो पार्टीलाई यथास्थितिबाट अर्को ठाउँमा लगेर समाजवादको नेतृत्व गर्ने पार्टी बनाउन सकिँदैन भन्ने गम्भीर समीक्षा र निष्कर्षसहित हामी अहिले अभियानमा छौं,” प्रचण्डले भने।

उनले अभियानमा नेता तथा कार्यकर्ताहरूलाई भाषण कम गर्न र जनताका समस्या ध्यानपूर्वक सुन्न निर्देशन दिएका छन्।

प्रचण्डले अभियानले उपत्यकाको राजनीतिक, सामाजिक र सांस्कृतिक बहुलतालाई सम्बोधन गर्न तथा नेवा र तामसालिङ समुदायसँगको सम्पर्क विस्तारलाई अभियानको मूल लक्ष्यको रूपमा प्रस्तुत गरे।

उनले अभियान एक महिनामा सीमित नहुने प्रस्ट पारे। निरन्तर जनसम्पर्क र संगठनात्मक सुदृढीकरण आवश्यक रहेको भन्दै अभियानलाई दीर्घकालीन बनाउने पक्षमा पार्टी रहेको बताए।

प्रचण्डले स्वायत्तता, पहिचान र समाजवादी समाज निर्माणको प्रक्रिया परस्परसम्बद्ध रहेको उल्लेख गर्दै सबै उत्पीडित जाति, वर्ग, क्षेत्र र समुदायलाई सशक्त मोर्चामा रूपान्तरण गर्ने अठोट पनि व्यक्त गरे।

उद्घाटन कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, पम्फा भुसाललगायत शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। माओवादी केन्द्रका अनुसार अभियानको क्रममा उपत्यकाका विभिन्न स्थानमा अन्तक्र्रिया, छलफल, घरदैलो,

जनभेटघाट, सांस्कृतिक कार्यक्रम र जनप्रतिनिधिसँग प्रत्यक्ष संवादजस्ता गतिविधिहरू सञ्चालन गरिनेछ।

पार्टीको सांगठनिक पुनर्जागरण र समाजवादी एजेन्डा पुनःस्थापित गर्न यो अभियान महत्वपूर्ण हुने विश्वास माओवादीले लिएको छ।

आलोचकहरूले यो अभियानलाई माओवादीको जनाधार खस्कँदो अवस्थाबाट पुनर्जीवित गर्न गरिएको प्रयासका रूपमा हेरेका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट