सप्तकोसीमा बेपत्ता भएका दुई गोताखोरको खोजी कार्य तीव्र : डीएसपी भण्डारीको नेतृत्वमा चितवनबाट पाँचजना गोताखोर खटाइयो

काठमाडौं । सप्तकोसी नदीमा बिहीबार उद्धार अभ्यासको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका दुईजना जवानको खोजी कार्य अझ तीव्र पारिएको छ। बेपत्ता भएकाहरुको उद्धारका लागि सशस्त्र प्रहरी बलको विपद् उद्धार तालिम शिक्षालय, कुरिनटार (चितवन) बाट पाँचजना दक्ष गोताखोरको टोली खटाइएको हो। यस टोलीको नेतृत्व अनुभवी प्रशिक्षकसमेत रहेका डीएसपी पुरुषोत्तम भण्डारीले गरिरहेका छन्।
बिहीबार दिउँसो नियमित उद्धार अभ्यासकै सिलसिलामा दुईजना सशस्त्र प्रहरी गोताखोर सप्तकोसी नदीमा बेपत्ता भएका थिए। उक्त अभ्यासमा इलाममा कार्यरत सशस्त्र प्रहरी जवान हरिदेव राजवंशी र पर्सा गणअन्तर्गत छिन्नमस्ता बाहिनीमा कार्यरत सुरज साउद सहभागी थिए। अभ्यासको क्रममा पानीको तीव्र बहाव र प्रतिकूल अवस्थाका कारण उनीहरू अचानक बेपत्ता भएका थिए।
घटनाको जानकारी प्राप्त भएपछि तुरुन्तै कुरिनटारस्थित तालिम केन्द्रबाट उद्धार टोली परिचालन गरिएको थियो। सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उद्धारका लागि खटिएको टोली बिहीबार राति पौने ११ बजे नै घटनास्थलतर्फ प्रस्थान गरेको हो। उक्त टोलीमा तालिम प्राप्त र अनुभव सम्पन्न पाँच जना गोताखोर सहभागी छन्, जसको नेतृत्व डीएसपी पुरुषोत्तम भण्डारीले गरिरहेका छन्।
डीएसपी भण्डारी सन् २०६९ सालमा बङ्गलादेशबाट गोताखोर सम्बन्धी विशेष तालिम प्राप्त गरेका प्रशिक्षक हुन्। उनी नेपालमै सञ्चालित गोताखोर तालिम कार्यक्रमका वरिष्ठ प्रशिक्षक पनि हुन्। घटनाबारे प्रतिक्रिया दिँदै उनले घटनास्थलमा पुगेर पानीको बहाव, भौगोलिक अवस्था र अन्य प्राविधिक पक्षहरूको प्रत्यक्ष अवलोकनपछि थप मूल्याङ्कन गर्न सकिने बताएका छन्।
उद्धार अभ्यासजस्ता जोखिमयुक्त कार्यमा खटिने सुरक्षाकर्मीहरूको सुरक्षाका लागि आवश्यक उपायहरू अपनाउनुपर्ने आवश्यकता फेरि एकपटक देखिएको छ। यस्ता अभ्यासहरूमा जोखिम न्यूनिकरणका लागि सुरक्षा मापदण्ड, समयको छनोट, उपकरणको अवस्था र नदीको प्रवाहजस्ता पक्षमा गहिरो ध्यान दिनुपर्ने देखिन्छ।
हाल बेपत्ता दुबै जवानको खोजी कार्य सशस्त्र प्रहरी बलको समन्वयमा निरन्तर भइरहेको छ। सप्तकोसी नदीको तीव्र बहावका कारण खोजी कार्यमा कठिनाइ भए पनि गोताखोर टोलीले सबै आवश्यक उपकरणसहित कार्य गरिरहेको बताइएको छ।
घटनाले उद्धार अभ्यासको चुनौतीपूर्ण पक्ष उजागर गर्नुका साथै आपतकालीन प्रतिक्रिया प्रणालीलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता पनि देखाएको छ। गोताखोर जवानहरूको सकुशल उद्धारको कामनाका साथ सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन प्रयासरत छन्।
क्याटेगोरी : समाचार
प्रतिक्रिया