Techie IT
Samayabaddha
सोमबार, १९ साउन, २०८२

अवैध रूपमा अमेरिका पुगेका थप ५० जना नेपाली डिपोर्ट, चार्टर विमानमार्फत आज काठमाडौँ आइपुग्दै


काठमाडौं । अमेरिकाले अवैध रूपमा प्रवेश गरेका थप ५० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। उनीहरूलाई विशेष चार्टर विमानमार्फत नेपाल फिर्ता पठाइएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका एक अधिकारीका अनुसार, डिपोर्ट गरिएका नेपालीहरू आज दिउँसो ४ बजे काठमाडौँ आइपुग्ने निश्चित भएको छ।

संयुक्त राज्य अमेरिकाको आप्रवासन नीतिमा कडाइ गरेसँगै नेपाली नागरिकहरूको डिपोर्टको संख्या बढ्दो क्रममा छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालदेखि नै सुरु भएको कडा आप्रवासन नीतिका कारण गैरकानुनी रूपमा अमेरिका पुगेका वा त्यहाँ अवैध रूपमा बसोबास गरिरहेका नेपालीहरू डिपोर्ट हुन थालेका हुन्।

यसअघि पनि गत फागुनमा अमेरिकाको टेक्सास राज्यबाट ९ जना नेपालीलाई डिपोर्ट गरिएको थियो। त्यसपछि यो नै सबैभन्दा ठूलो संख्यामा नेपालीहरुलाई डिपोर्ट गरिएको हो । एकैचोटि ५० जना नेपालीहरूलाई अमेरिका सरकारले आफ्नो देश फिर्ता पठाएको कुरालाई नेपाल भित्र गम्भीर ढंगले समीक्षा हुन जरुरी छ ।

अहिले अध्यागमन विभागले सेटिङमा नेपालीहरुसँग पैसा लिएर भिजिट भिसामार्फत ठूलो संख्यामा दैनिक रुपमा बाहिर पठाउने गरेको घटनामाथि अनुसन्धान चलिरहेको छ । अमेरिकाबाट फर्केका नेपालीहरुसँग पनि अख्तियारले अनुसन्धान गरेर थप अध्ययन गर्नसक्छ । अमेरिका पुगेका अधिकांश नेपालीहरू मेक्सिको हुँदै अमेरिका प्रवेश गर्ने गरेको अमेरिकाको दाबि छ ।

नेपाल फर्काइएका यी नागरिकहरूलाई विमानस्थलमा अध्यागमन र सम्बन्धित सुरक्षाकर्मीहरूले आवश्यक प्रक्रिया पुरा गरी परिवारजनसँग बुझाउने वा आवश्यक परे स्वास्थ्य परीक्षणका लागि सम्बन्धित निकायमा पठाइने बताइएको छ।

अमेरिकामा बस्नका लागि अनेकौं जोखिम उठाउँदै मेक्सिको हुँदै यात्रा गर्ने प्रचलन पछिल्ला वर्षमा तीव्र रूपमा बढेको देखिएको छ। बिचौलियाको पछि लागेर धेरै नेपालीहरू हजारौं डलर तिरेर जीवन जोखिममा पार्दै अमेरिका पुग्ने प्रयास गरिरहेका छन्। तर कठोर अमेरिकी आप्रवासन नीतिका कारण त्यहाँ प्रवेश गरेपछिसमेत सुरक्षित बसोबासको ग्यारेन्टी छैन।

आज काठमाडौँ आइपुग्ने यी ५० जना नेपालीहरूको डिपोर्टेसनले व्यक्तिगत रूपमा उनीहरूको सपना चकनाचुर त बनाएको छ नै नेपाल सरकारलाई देशभित्र अवसर दिन नसक्दा कति जोखिम उठाउँदै नेपालीहरु अवसरको खोजीमा हिडिरहेका छन् भन्ने कुरालाई एकपटक गम्भीर भएर सोंच्न पर्ने प्रश्न उठाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट