Techie IT
Samayabaddha
सोमबार, २६ जेठ, २०८२

भ्रष्टविरूद्ध लडिरहन्छाै भन्ने माओवादी गीतमा राजावादी कमल थापाको टिकटक


काठमाडौ । ‘हामी थाकेका छैनौं, हामी युद्ध लडिरहन्छौं’ भन्ने शब्दसहित माओवादी जनयुद्धको समयमा लेखिएको गीतमा पूर्वपञ्च तथा राजावादी नेता कमल थापाले टिकटक बनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । थापाले व्यायाम गर्दै बनाएको उक्त टिकटक भिडियोमा भ्रष्ट शासकहरूको शासन अब जाँदैछ भन्ने मूल सन्देश बोकेको गीत प्रयोग गरिएको छ ।

मुलुकमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता स्थापनाका लागि लडिएको माओवादी जनयुद्धसँग गहिरो सम्बन्ध राख्ने उक्त गीतमा राजावादी नेता थापाको प्रस्तुति सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको आलोचनाको विषय बनेको छ ।

शब्द, सङ्गीत र स्वर जनकलाकार खुशीराम पाख्रिनको रहेको यो गीत माओवादी सशस्त्र संघर्षका बेला युद्ध र परिवर्तनको प्रेरणास्वरूप गाइन्थ्यो । यो गीतमा हामीसँग प्रचण्डपथ छ भन्ने पंक्ति पनि उल्लेख गरिएको छ तर थापाले प्रयोग गरेको संस्करणमा भने उक्त पंक्ति हटाइएको छ ।

गीतको प्रयोग र त्यसको सन्देशमा फरक अर्थ

राजनीतिक रुपान्तरणका लागि सिर्जना गरिएको जनवादी गीत अहिले एक राजावादी नेताले प्रयोग गर्नुमा अनेक प्रश्न उठेका छन् । समय अनुसार गीतको प्रयोग बदलिनु स्वाभाविक हो तर त्यसले बोकेको विचार र सन्देशको बेवास्ता गर्दै प्रयोग गर्नुले मूल सन्दर्भ विस्मरणमा परेको छ भन्ने टिप्पणी हुन थालेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका थापाले आफ्नो टिकटक भिडियोमा कुनै राजनीतिक व्याख्या नगरे पनि त्यसले सामाजिक सञ्जालमा व्यंग्यात्मक टिप्पणी जन्माएको छ । कतिपय प्रयोगकर्ताहरूले राजावादीले माओवादी गीतमा एक्सरसाइज गर्नु भनेको विचार र मूल्यको पूर्ण विस्थापन हो भन्दै आलोचना गरेका छन् ।

जनयुद्धको गीत – राजनीतिक ‘ट्रेडमार्क’ कि सबैको सम्पत्ति ?

गीतकार पाख्रिनले जनयुद्धकै समयमा सिर्जना गरेका यस्ता गीतहरू युद्धको विद्रोह र आमूल परिवर्तनको प्रतीकका रूपमा बुझिन्छन् । माओवादी आन्दोलनकै विशेष सन्दर्भमा लेखिएका यी गीतहरूले राजनीतिक चेतना निर्माणमा ठूलो भूमिका खेलेका थिए ।

तर अहिले त्यही गीतहरू राजनीतिक र साङ्गीतिक धरातलमा मूल सन्देशभन्दा टाढा पुगेर, विद्रूपीकरण गर्दै जाँदा त्यसको ऐतिहासिकता, मूल्य र सन्दर्भ कमजोर हुने चिन्ता कलाकर्मीहरूले व्यक्त गर्न थालेका छन् ।

एक प्राज्ञिक विश्लेषक भन्छन्, “यो केवल गीतको प्रयोग होइन । इतिहासलाई फिल्टर लगाएर उपभोग गर्न खोजिएको छ ।”


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट