Techie IT
Samayabaddha
शनिबार, ३१ जेठ, २०८२

अहमदाबाद विमान दुर्घटनामा २४१ जनाको मृत्यु, एक मात्र यात्रु जीवित


काठमाडौं । भारतको गुजरात राज्यको प्रमुख सहर अहमदाबादमा भएको एक भयानक विमान दुर्घटनामा २४२ मध्ये २४१ जनाको मृत्यु भएको पुष्टि भएको छ।

एयर इन्डियाको लण्डनतर्फ उडेको यात्रुवाहक विमान, जसमा २३० जना यात्रु र १२ जना चालक दलका सदस्य सवार थिए । विमान उडेको केही समयमै दुर्घटनामा परेको हो।

विमान नम्बर एआई १७१ मा सवार यात्रुमध्ये २४१ जनाको घटनास्थलमै वा उपचारको क्रममा मृत्यु भएको पुष्टि एयर इन्डिया र भारतीय नागरिक उड्डयन प्राधिकरणले संयुक्तरूपमा गरेको छ। ज्यान जोगाउन सफल एक मात्र व्यक्तिको अहमदाबादस्थित एक अस्पतालमा उपचार भइरहेको छ । उनी भारतीय मूलका बेलायती नागरिक हुन् ।।

दुर्घटनामा मृत्यु हुनेहरूमा यात्रुका साथै पाइलट र अन्य चालक दलका सदस्य पनि रहेका छन्। प्रारम्भिक विवरण अनुसार विमानमा सवार नागरिकहरूमा १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना पोर्चुगिज र एक जना क्यानेडियन रहेका थिए।

यो दुर्घटना बीजे मेडिकल कलेजको छात्रावास भवनको माथिल्लो तलामा विमान ठोक्किँदा भएको हो। ठोक्किने क्रममा भवनमा रहेका मेडिकल कलेजका केही विद्यार्थीहरू पनि घाइते भएका छन्। घटनालगत्तै अहमदाबाद प्रहरीले दिएको जानकारीअनुसार हालसम्म २५ जना घाइतेको विवरण सार्वजनिक भएको छ।

विमान अहमदाबादस्थित सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार दिउँसो १स्३९ मा उडेको थियो।

दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्दै ट्वीटमार्फत घटनाले आफू स्तब्ध भएको जनाएका छन्।

बेलायतका राजा चार्ल्स तेस्रोले समेत आफू र रानी क्यामिला उक्त भयानक दुर्घटनाबाट मर्माहत भएको प्रतिक्रिया दिएका छन्। साथै क्यानडा र पोर्चुगलका प्रधानमन्त्रीहरूले पनि घटनाप्रति समवेदना प्रकट गरेका छन्।

यो दुर्घटना हालसम्मको दशककै सबैभन्दा भीषण विमान दुर्घटनामध्ये एक मानिएको छ। यात्रुहरूको राष्ट्रियता र मानवीय क्षतिलाई हेर्दा यसको प्रभाव भारतमा मात्र होइन अन्तर्राष्ट्रिय समुदायमा समेत गहिरो गरी परेको देखिन्छ।
दुर्घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जनाइएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट