Techie IT
Samayabaddha
शनिबार, ३१ जेठ, २०८२

अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित


काठमाडौं । कम्युनिस्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठनको २४ औं राष्ट्रिय महाधिवेशन हालै सम्पन्न भएको छ । अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् ।

७३२ मत सहित उनी विजयी हुँदा उनका प्रतिद्वन्द्वी प्रकाश पौडेल ७२५ मतले पराजित भए ।

जम्मा १५५१ मतदाता रहेकोमा अखिलमा १४५० मत खसेको थियो । विद्युतीय मेसिनमार्फत मतदान भएकोले मतदान स्वच्छ प्रतिपस्र्धाको आधारमा भएको विश्वास प्रतिनिधिहरुले गरेका छन् ।

अध्यक्षमा कडरिया र पौडेल चुनावी मैदानमा थिए । दुवैले केपी ओली जिन्दावादको नारा लगाएर मतदानस्थलमा मत मागिरहेको देखिन्थ्यो ।

यस्तै अञ्जना सिवाकोटी र विकास श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् भने महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी विजयी भएका छन् । त्यस्तै सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र ससीम बाबु खाम विजयी भए ।

त्यस्तै, सचिवालय सदस्यमा कोशीबाट प्रवीण कार्की, रोशन लामा र पुष्पा मगर, मधेशबाट दिवस सापकोटा र कायरा पोख्रेल, बागमतीबाट नविन्द्र चालिसे, भुवन मैनाली र सरस्वती थापा खड्का, उपत्यकाबाट सुनिल थापा र सुनिता घिमिरे, गण्डकीबाट किशोरचन्द्र सुवेदी, विनय पराजुल र कृति भट्टराई निर्वाचित हुनुभएको छ ।

त्यस्तै, लुम्बिनीबाट आर्जन रिमाल, सागर न्यौपाने र सीमा घिमिरे, कर्णालीबाट विराज भण्डारी र प्रतिमा खड्का क्षेत्री, सुदूरपश्चिमबाट किशोर शाह, रोशनबहादुर साउद र कल्पना तिमिल्सेना, विश्वविद्यालयबाट विशाल आचार्य, विशाल खड्का र बिहानी पंगेनी, सम्पर्क कमिटी र विभागतर्फबाट कविराज घिमिरे र सुस्मा शाही निर्वाचित भएका छन् ।

अध्यक्ष कडरियाको जितसँगै नेतृत्वसँग अनेरास्ववियुका विद्यार्थीहरूले केही विशेष अपेक्षाहरू गरेका छन् ः

शैक्षिक संस्थामा अखिलको विश्वसनीयता पुनःस्थापना गर्नेदेखि निजी शिक्षाको नियमन र सार्वजनिक शिक्षाको गुणस्तर वृद्धिमा जोड दिन र विद्यार्थी राजनीतिमा पारदर्शिता, अनुशासनका साथै आन्तरिक एकता र सशक्त सञ्जाल विस्तार गर्न यो नेतृत्व सक्षम बन्नेछ भन्ने अपेक्षा विद्यार्थीहरुले लिएका छन् ।

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनको गत माघमा महाअधिवेशन भएको थियो । नेकपा माओवादी केन्द्रले विद्यार्थी संगठनभित्र ३२ वर्षे उमेर हद लगाएपछि अहिले नेकपा एमालेभित्र पनि सोही उमेरहदलाई कायम गरिएको छ । उमेर हदका कारण माथिल्लो पदमा रहेकाहरू बाहिरिँदा कडरियाले अवसर पाएका हुन् ।

आगामी दिनमा अध्यक्ष कडरियासहितको नयाँ टिमले विद्यार्थी हितका मुद्दाहरूमा कसरी सक्रियता देखाउँछ, त्यो भने हेर्न बाँकी छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट