भारतले प्रचण्डलाई जस दिएको ४० मेगावाटको बंगलादेशसँगको बिजुली व्यापार शुरु

काठमाडौं । नेपालले जेठ ३१ गते शनिबारबाट बंगलादेशलाई पहिलो पटक विजुली बेच्न शुरु गरेको छ । विद्युत प्राधिकरणले उत्पादित विद्युतले स्वदेशमा माग पूरा गरी तेस्रो देश बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात सुरु गरेको हो ।
गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशबीच विद्युत् निर्यातका लागि त्री–पक्षीय सम्झौता भएको थियो । सम्झौता कार्यान्वयनको सिलसिलामा गत कात्तिक ३० गते एक दिन मात्र बङ्गलादेशलाई विद्युत् निर्यात गरिएको थियो ।
नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कविर खानबीच संयुक्त रूपमा स्वीच अन गरी विद्युत् निर्यातको उद्घाटन काठमाडौंमा गरिएको थियो ।
गत असोज १७ गते भएको त्रिपक्षीय सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहम्मद रेजुल करिम र एनटिपिसी विद्युत् व्यापार निगम भारतकी प्रमुख कार्यकारी अधिकृत रेनु नारङ्गले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार नेपालले पाँच वर्षका लागि हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट विद्युत् निर्यात गर्ने तालिका छ ।
यसरी बंगलादेशलाई विद्युत निर्यात् गरेपछि नेपाल तेस्रो मुलुक विद्युत् निर्यात गर्ने दक्षिण एसियाकै पहिलो देश बनेको छ ।
भारतद्वारा विद्युत निर्यातको श्रेय प्रचण्डलाई
गत कार्तिक ३० गते भारत सरकारले नेपालको बिजुली भारतीय ग्रीड हुँदै बंगलादेश पठाएको जश नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको थियो ।
ओली सरकार गठन भएको चार महिना हुनै लाग्दा भएको सम्झौतालाई भारतले विज्ञप्ति नै निकालेर श्रेय प्रचण्डलाई दिंदा भारत भ्रमणको निम्तो समेत नपाएका प्रधानमन्त्री केपी ओलीलाई थप तनाव बनाएको थियो ।
भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी पूर्व प्रधानमन्त्री प्रचण्डले ३१ मे देखि ३ जून, २०२३ मा भ्रमणका क्रममा बंगलादेशमा बिजुली निर्यातसम्बन्धी भारत सरकारले निर्णय गरेको स्मरण गराएको थियो ।
वक्तव्यमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आफ्नो भारत यात्राका क्रमम नेपालबाट बंगलादेशसम्मको पहिलो त्रिपक्षीय विद्युत् कारोबारलाई भारतीय ग्रीडमार्फत ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न सहज बनाउने निर्णय गरेको थियो,’ विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिअनुसार भ्रमणका क्रममा दुबै पक्षले सबै सरोकारवालाको पारस्परिक हितका लागि अर्थतन्त्रबीचको अन्तरसम्बन्धलाई अभिवृद्धि गर्ने उद्देश्यका साथ ऊर्जा क्षेत्र लगायत थप उपक्षेत्रीय सहयोगप्रति प्रतिबद्धता व्यक्त गरेका थिए ।
भारत सरकारले नेपालबाट भारत हुँदै बंगलादेशसम्मको यो विद्युत् प्रवाह सुरु भएसँगै विद्युत् क्षेत्रमा उपक्षेत्रीय कनेक्टिभिटी बढाउने अपेक्षा गरेको विज्ञप्तिमा जनाएको छ ।
नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारणलाइन ढल्केबर–मुजफ्फरपुर ४०० केभीमार्फत बिक्री गर्न लागिएको हो । यसअघि नेपाल र भारतबीच मात्र विद्युत् व्यापार हुँदै आएको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया