कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

काठमाडौं । हाल देशभर मनसुनी प्रणालीको सक्रियता देखिएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा सक्रिय मनसुनी वायुका साथै भारतको पश्चिम बङ्गाल आसपास विकसित न्यूनचापीय क्षेत्रको समेत प्रभाव नेपालमा देखिएको छ । त्यससँगै पश्चिमी तथा स्थानीय वायुको प्रभाव पनि देशका पश्चिमी भूभागमा आंशिक रूपमा देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहनेछ । मौसम पूर्वानुमान अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
सावधानी अपनाउन आग्रह
खासगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भने भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। यसले गर्दा नदी तथा खोलानाला आसपासको बस्तीमा आकस्मिक बाढीको खतरा रहन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। पहाडी भू–भागमा पहिरोको जोखिमसमेत बढ्न सक्ने भएकाले सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भेगहरूमा पनि मौसम प्रतिकूल रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षाका साथै हिमपातको सम्भावना रहेको जनाइएको छ । अन्य प्रदेशका केही उच्च भूभागमा पनि यस्तै अवस्था देखिन सक्नेछ ।
आज रातिको पूर्वानुमान अनुसार देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । साथै कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले यस्तो मौसमी अवस्थालाई ध्यानमा राखी नदी किनार र डुबान प्रभावित क्षेत्रमा बसोबास गर्नेले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै पहिरो सम्भावित क्षेत्रमा यात्रा गर्दा आवश्यक सावधानी र वैकल्पिक योजना बनाउन पनि मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया