बालेनले समय नदिएपछि उपमेयरलाई ज्ञापन पत्र

काठमाडौं । नेपाल कम्युनिस्ट माओवादी केन्द्र काठमाडौं महानगर समितिले आज असार ५ गते काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहलाई नीति तथा कार्यक्रम र बजेट विनियोजनको लागि आफ्ना सुझाव र मागसहित ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको थियो ।
बालेन साहले समय नदिएपछि सो पार्टीले महानगरका उपप्रमुख सुनिता डंगोललाई दिउँसो १ बजे ज्ञापन पत्र बुझाएको छ ।
महानगर प्रमुखलाई नै भेटेर ज्ञापन पत्र बुझाउने गरी बालेनसँग समय माग गर्दै दुई दिन अगाडि नै महानगरमा पत्र दर्ता गराए पनि उनले समय नदिएको कार्यालयका एक सदस्यले बताए ।
नेकपा माओवादी केन्द्र काठमाडौं महानगरका अभियान प्रमुख सुनिल मानन्धर, सरिता महर्जन, उमेश स्थापित, सीता अधिकारी, अमरध्वज लामा, रविन्द्र श्रेष्ठ, महानगरका संयोजक निरज लामा लगायतको नेतृत्वमा गएको महानगरसमितिको कार्यालय टिमले ज्ञापन पत्र बुझाउने क्रममा समाजवाद निर्माणको आधार तय गर्ने गरी स्थानीय तहको एकल अधिकार सूचीलाई कार्यान्वयन गर्न विशेष जोड दिन आग्रह गरेको छ ।
साथै काठमाडौं महानगरपालिकाका जनताले भोग्नु परेका समस्या र महानगरका स्थानीय नेवाः तथा तामाङ जातिको संकृति, इतिहास, गुठी, मंदिर आदिको संरक्षण र स्ववासीका समस्यामा केन्द्रित भइ नेकपा माओवादी केन्द्रको महानगरसमितिले ज्ञापन–पत्र बुझाएको हो । जवाफमा उपप्रमुख डंगोलले ज्ञापन पत्रमा उठाएका मागहरुलाई सम्बोधन आफ्नो तर्फबाट पूरै प्रयास हुने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेशले आज प्रदेशभरि नै पालिका स्तरमा ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको थियो । नेकपा माओवादी केन्द्र, काठमाडौं महानगर पार्टीले यसै निर्णयलाई कार्यान्वयन गरेको हो ।
संविधान अनुसार स्थानीय पालिकाले असार १० बजेट ल्याइसक्नुपर्ने हुन्छ । तर काठमाडौं महानगरपालिकाभित्र मेयर–उपमेयर, मेयर–प्रमुख प्रशासकीय अधिकृतको द्वन्द्वले बजेट अनिश्चित जस्तै बन्दै गएको टिप्पणी शुरु भएको छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया