Techie IT
Samayabaddha
आईतबार, २९ असार, २०८२

इजरायल–इरान द्वन्द्वका कारण नेपाल फर्कन चाहेका नेपालीलाई उद्दार गर्न सरकार तयारीमा छ : मन्त्री राणा


काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा विकसित घटनाक्रमका बीच नेपाली नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिइएको बताएकी छन्। उनका अनुसार नेपाल फर्कन चाहनेलाई उद्धार गर्ने र आवश्यक अन्य उपाय अवलम्बन गर्ने तयारी सरकारले गरिरहेको छ।

आज प्रतिनिधि सभामा पराष्ट्र मन्त्रालयको बजेट सम्बन्धी उठेका प्रश्न र प्रतिप्रश्नको जवाफ दिदै उनले सो कुरा बताएकी हुन ।

इजरायलस्थित नेपाली दूतावास उद्धारको समन्वयमा सक्रिय रहेको उनको भनाइ छ। जीटूजी (सरकार-देखि-सरकार) प्रणालीअन्तर्गत काम गर्न गएका नेपालीहरूका लागि पनि इजरायली पक्षले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। आवश्यक परे सीमावर्ती मुलुकमा जान सक्ने व्यवस्था मिलाउन इजरायल सरकारलाई नेपालले आग्रह गरिसकेको उनले जानकारी दिएकी छन्

इजरायल र इरानबीचको पछिल्लो द्वन्द्वले ती मुलुकमा रहेका नेपाली नागरिकहरूको सुरक्षाप्को लागि परराष्ट्र मन्त्रालयले इजरायलस्थित नेपाली दूतावासमार्फत त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी संकलन गर्न थालेको छ।

हालसम्म ८ सय ८५ नेपालीले विवरण फारम भरेका छन् भने तीमध्ये ३५ जनाले नेपाल फर्कनका लागि उद्धारको माग गरेका छन्।

मन्त्रालयले स्वदेश फर्कन चाहने नेपालीलाई सहज प्रक्रिया मिलाउन फारम खुला गरेको हो।

इजरायल–इरान युद्ध सुरु भएको दिन अर्थात् जुन १३ मा परराष्ट्र मन्त्रालयले दुबै पक्षलाई संयमता अपनाउन र वार्ताबाट समस्या समाधान गर्न अपिल गर्दै नेपालीलाई दूतावाससँग सम्पर्कमा रहन अनुरोध गरेको थियो।

‘१३ जुनदेखि नै हामी प्रेस विज्ञप्ती जारी गर्‍यौं। त्यसपछि जुन १५ मा हामीले प्रेस एड्भाइजरी समेत जारी गरेर हाल इसराइल तथा इरानमा रहेका नेपाली नागरिकहरुलाई सुरक्षा सतर्कता अपनाउन अनुरोध गरिरहेका छौँ । रहेक दिन जसो म राजदुतज्यूहरुसँग समेत सम्पर्क गरेर बुझ्ने प्रयास गरिरहेको छु । त्यो बाहेक अन्य देशमा रहनुभएको राजदुतहरुसँग नेपाली नागरिकको सुरक्षाका सन्दर्भमा निरन्तर छलफल हुँदै आएको छ । जुन १७ अनलाई पोर्टल खोलेर नेपाली नागरिकहरुको विवरण लिन शुरु गरेका छौँ । र उक्त पोर्टलमा हालसम्म ८ सय ८५ जनाले दर्ता गर्नुभएको छ । अबको एकदुई दिनमा श्रम संसार भन्ने मोबाइल एप नागरिक एपसँग मिलाएर रिलिज पनि गर्न गइरहेका छौं,’ मन्त्री राणाले भनिन्।

उनले अवैधानिक रुपमा विदेशमा काम गरिरहेका नेपाली नागरिकलाई वैधानिक बनाउनका लागि काम गर्न समेत कार्यदल गठन गरी काम अघि बढाइएको बताइन्।

उनले इसराइल–गाँजा युद्धमा बेपत्ता भएका नेपाली विद्याथी वीपिन जोशीको रिहाईको लागि समेत सरकार प्रयासरत रहेको बताइन्। यद्यपि उनको अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको पनि उनले जानकारी दिएकी छन् ।

सरकारी अनुमान अनुसार हाल इजरायलमा पाँच हजारदेखि सात हजार नेपाली रहेका छन्। तीमध्ये धेरैजसो तेल अभिभ, जेरुसेलम र हाइफामा कार्यरत छन्। अर्कोतर्फ, इरानमा १८ जना नेपाली नागरिक छन्, जो हाल द्वन्द्वका कारण जोखिममा परेका छन्।

इरानमा रहेका नेपालीको उद्धारमा भारत सरकारले समेत सहयोग गर्ने भएको छ। भारतको तेहरानस्थित दूतावासले नेपाल र श्रीलंकाका नागरिकलाई उद्धारमा सहयोग गर्ने भन्दै आवश्यक समन्वयको लागि तीनवटा सम्पर्क नम्बर सार्वजनिक गरेको छ।

परराष्ट्रमन्त्री डा.राणाले भारत सरकारसँग समन्वयका लागि नेपालका लागि भारतीय राजदूतलाई आग्रह गरेकी थिइन्। त्यसपछि भारतको तेहरानस्थित दूतावासले सूचना जारी गर्दै नेपाल र श्रीलंकाका नागरिकलाई उद्धारका लागि सम्पर्क गर्न अनुरोध गरेको हो।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट