इरान-इजरेल तनाव र ट्रम्पको युद्धविराम घोषणाः अन्योलयुक्त स्थिति

काठमाडौं । इरान र इजरेलबीचको तीव्र सैन्य तनावले मध्यपूर्व क्षेत्रमा गम्भीर अस्थिरता ल्याएको छ। यसले विश्व युद्धको संकेत गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान र इजरेलबीच चरणबद्ध युद्धविरामको सहमति भएको दाबी गरेका छन्। तर ट्रम्पको यो घोषणा तत्कालै विवादास्पद बनेको छ ।
ट्रम्पको युद्ध विराम घोषणालाई इरानले अस्वीकार गर्दै ‘पहिले इजरेलले आक्रमण रोकोस्’ भन्ने शर्त अघि सारेको छ। यसले गर्दा युद्धविराम लागू हुने वा नहुने विषय अझै पनि स्पष्ट छैन।
इरानी विदेशमन्त्री अब्बास अराग्चीले अमेरिकी राष्ट्रपति ट्रम्पको युद्धविराम घोषणालाई चुनौती दिंदै, कुनै पनि औपचारिक सहमति नभएको बताएका छन्।
उनले भनेका छन् स् यदि इजरेलले इरानमाथि आक्रमण रोकेको खण्डमा मात्र इरानले थप सैन्य कारबाही गर्ने छैन। अर्थात्, इरानले युद्धविरामलाई सशर्त रूपमा स्वीकार गरेको छ । यसबाट युद्ध टरेको होइन कि स्थिति अझ जटिल बनाएको छ।
अराग्चीको उक्त भनाइ आउनु केही मिनेट अघि नै तेहरानमा शक्तिशाली विस्फोटहरू सुनिएका थिए र आकाशमा लडाकू विमानहरू उडिरहेका थिए, जसले सम्भावित हवाई आक्रमणको सङ्केत दिएको थियो।
ट्रम्पको चरणबद्ध युद्धविराम योजना
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा राखिएको पोस्टमार्फत इरान(इजरेल युद्ध अन्त्यको घोषणा गर्दै चरणबद्ध प्रक्रिया प्रस्तुत गरेका थिए। उनका अनुसारस्
प्रथम चरण – इरानले तुरुन्तै आक्रमण रोक्नेछ।
दोस्रो चरण – त्यसको १२ घण्टापछि इजरेलले पनि आफ्ना सैन्य गतिविधि रोक्नेछ।
अन्तिम चरण – युद्धविरामको २४ घण्टापछि युद्ध आधिकारिक रूपमा समाप्त हुनेछ।
तर ट्रम्पले यो पनि भनेका छन् कि यसबीच दुवै पक्षले पहिले नै आरम्भ गरिसकेका सैन्य कारबाहीहरू सम्पन्न गर्नेछन्। यस अवधारणा भित्रै अन्तिम आक्रमणहरू जारी रहने भएकाले युद्धविराम लागू भइसकेको मान्न सकिने स्थिति छैन।
युद्धविराम सम्बन्धमा इजरेली पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। बरु इज्जरेलका रक्षामन्त्रीले भनेका छन् कि अहिले इजरेलले अभूतपूर्व शक्ति प्रयोग गर्दै इरानमा लक्षित हमला गरिरहेको छ।
यसै सन्दर्भमा, इरानले पनि इजरेलको तेल अभिभ सहर नजिकै रहेको रमात गान नगरमा बसोबास गरिरहेका नागरिकहरूलाई अन्यत्र जान चेतावनी दिएको छ । जसले तत्काल युद्धविरामको वातावरण नरहेको देखाउँछ।
कतारस्थित अमेरिकी सैन्य अखडामाथिको इरानी हमला
राष्ट्रपति ट्रम्पले युद्धविरामको घोषणा गर्नु केही घण्टा अघि नै इरानले कतारस्थित अमेरिकी सैन्य अखडामाथि क्षेप्यास्त्र प्रहार गरेको थियो। इरानले यसलाई अमेरिका द्वारा उसका परमाणु केन्द्रहरूमा गरिएको हमलाको ‘शक्तिशाली जवाफ’ भनेको छ।
इरानी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले ६ वटा क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिएको छ। यद्यपि कतारी अधिकारीहरूले यस आक्रमणमा कुनै हताहती नभएको बताएका छन्, जुन ट्रम्पले पनि पुष्टि गरेका छन्।
यस आक्रमणपछि कतारले आफ्नो हवाई क्षेत्र खुला गरेको थियो। कतार, अन्य खाडी राष्ट्रहरू तथा संयुक्त राष्ट्रसंघले समेत इरानी कारबाहीको आलोचना गरेका छन्।
इरान र इजरेलबीचको युद्धविराम सम्बन्धी ट्रम्पको घोषणाले अन्तर्राष्ट्रिय रूपमा आशा जगाए पनि त्यो व्यवहारिक रूपमा अझै अमूर्त देखिन्छ। इरानको सशर्त प्रतिक्रिया, इजरेलको निरन्तर आक्रमण, र कतारस्थित अमेरिकी सैन्य अखडामा भएको क्षेप्यास्त्र प्रहारले देखाउँछ कि युद्धविरामको वास्तविकता अझै धेरै टाढा छ।
यदि दुबै पक्षले आफ्नो अहंकार र सर्तहरू छाडेर कूटनीतिक संवादलाई प्राथमिकता नदिएमा यो युद्ध झनै भयावह बन्ने खतरा रहन्छ। युद्धविरामको प्रयास साँचो रुपमा सफल बनाउने हो भने त्यसका लागि अमेरिका, संयुक्त राष्ट्रसंघ, र अन्य क्षेत्रीय शक्ति राष्ट्रहरूले गम्भीर पहल गर्न आवश्यक देखिन्छ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति
प्रतिक्रिया