Techie IT
Samayabaddha
सोमबार, १६ असार, २०८२

मानो रोपेर मुरी फलाउने किसानको पर्व असार १५


काठमाडौं । नेपाल कृषि प्रधान देश हो । यहाँको अर्थतन्त्र, संस्कृति, रहनसहन र जनजीवनको मेरुदण्ड कृषि नै हो । त्यसमा पनि धान खेती नेपाली जनजीवनको अभिन्न अंग हो । वर्षेनी असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवसको रूपमा मनाउने परम्परा विकास हुँदै आएको छ ।

किसान कर्मबाट टाढा रहँदै आएका शहरीया नागरिकहरुलाई पनि आजभोलि असार १५ लाग्ने गर्छ । सामाजिक सञ्जाल पुरै धान दिवस र दही चिउरा दिवसको शुभकामनाले भरिएको हुन्छ ।

असार १५ को सांस्कृतिक महत्व

नेपालमा असार महिना मनसुन सुरु हुने समय हो । झरी, हिलो र हरियालीले भरिएको यो मौसम कृषकहरूका लागि रोपाइँको मुख्य सिजन हो । विशेषगरी मध्य र पूर्वी पहाड तथा तराईका जिल्लाहरूमा धान रोपाइँ यही समयमा सुरु हुन्छ ।

असार १५ गते किसानहरुले खेतमा हिलो खेल्दै सामूहिक रुपमा मनाउने चलन छ । यस दिनको खाजा दही–चिउरा खाने परम्परा छ, जसलाई उर्जाको प्रतिक मानिन्छ । यो किसानहरुले आफ्नै पौरखले उत्पादन गरेको खाजा हो ।

असार १५ मा लोक गीत, दोहोरी, नाचगानमार्फत खेतीपातीप्रतिको सम्मान व्यक्त गरिन्छ । यो दिन कृषकलाई मात्रै होइन सबै नागरिकलाई माटोसँगको सम्बन्ध सम्झाउने अवसर पनि हो ।

राष्ट्रिय धान दिवसको सुरुवात

नेपाल सरकारले २०६१ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन सुरु गरेको हो । त्यसको मुख्य उद्देश्य कृषि क्षेत्रको महत्व सार्वजनिक रूपमा उजागर गर्ने, कृषिमा वैज्ञानिक सोचको विकास गर्ने, धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यमा सघाउने थियो ।

यस दिन विभिन्न सरकारी, गैर–सरकारी तथा समुदायस्तरमा समेत विभिन्न संघ संस्थाहरुले संस्थाहरूले रोपाइँ कार्यक्रम आयोजना गर्छन ।
पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन, सहरीकरण, कृषि पेशाप्रति युवाको वितृष्णा, मल बीउको अभाव, सिँचाइको समस्या लगायतले गर्दा धान उत्पादन संकटमा परेको छ । यस्तो अवस्थामा असार १५ को महत्वलाई राज्यले अझ दर्शाउन जरुरी छ ।

कृषि, धान र अर्थतन्त्र

नेपालको कुल जनसंख्याको करिब ६० प्रतिशत कृषि पेशामा आश्रित छन्, जसमा धान सबैभन्दा बढी क्षेत्रफल ओगट्ने बाली हो ।

नेपालमा वार्षिक झण्डै ५५ लाख मेट्रिक टन धान उत्पादन हुन्छ । तर, माग अनुसार उत्पादन नहुँदा हरेक वर्ष धान आयात गर्नुपर्ने बाध्यता छ ।

आजका युवाहरुले असार १५ लाई केवल रोपाइँको सुरुवात मात्र होइन, आफ्नो माटोप्रतिको माया, श्रमप्रतिको सम्मान र आत्मनिर्भर भविष्यको सपना बोकेको विशेषको रुपमा स्मरण गर्न जरुरी छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट