Techie IT
Samayabaddha
सोमबार, १६ असार, २०८२

पूर्वराष्ट्रपति सुविधा त्यागको तयारीमा, पूर्व उपराष्ट्रपति र पूर्व सभामुखहरुसँग पनि जनताको अपेक्षा


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पूर्वराष्ट्रपतिको हैसियतमा उपलब्ध हुने कुनै सुविधा नलिने तयारीमा लागेकी छन् ।

भण्डारीले पूर्व राष्ट्र प्रमुखको सेवा सुविधा कायमै राखेर पार्टीको राजनीति गर्दा प्रश्न उठ्ने भएपछि साउन महिनाबाट सरकारी सेवा सुविधा नलिन गृह मन्त्रालयलाई पत्र पठाउने तयारी भएको बताइएको छ ।

भण्डारीको यो कदमले उच्चपदस्थ सार्वजनिक पदाधिकारीहरूले सेवा अवधि सकिएपछि पनि वर्षौंसम्म राज्यको खर्चमा सुविधा लिइरहने प्रवृत्तिमा प्रश्न उठाएको थियो । अझ उनीहरु दलीय राजनीतिमा फर्केपछि यो नैतिकताको प्रश्नसँग जोडिएको थियो ।

विद्यादेवी भण्डारीको घोषणापछि अहिले उपराष्ट्रपति पदबाट निवृत्त भएका नन्दबहादुर पुनलाई समेत त्यस्तै कदम चाल्नुपर्ने आवाज उठ्न थालेको छ । जनस्तरमा, सामाजिक सञ्जालमा र राजनीतिक वृत्तमा पनि यो विषयमा व्यापक बहस सुरु भएको छ । आलोचकहरूले भनिरहेका छन्, “राष्ट्रको सर्वाेच्च पदमा बसेर राष्ट्रसेवाको नाममा थुप्रै वर्ष सुविधा लिने तर सेवापछि पनि राज्यको ढाड सेक्ने प्रवृत्तिलाई अन्त्य गर्न सबै पूर्वपदाधिकारीले भण्डारीको अनुकरण गर्नुपर्छ ।”

पूर्वराष्ट्रपति भण्डारीको यो घोषणा आर्थिक दृष्टिकोणले मात्र होइन, नैतिक धरातलमा पनि सन्देशमूलक छ । देशको वर्तमान आर्थिक अवस्था र आम नागरिकको जीवनस्तरले पूर्व पदाधिकारीहरुले लिएको सुविधाले गिज्याइरहेको महसुस हुन्छ ।

यसै सन्दर्भमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पूर्वउपराष्ट्रपतिको हैसियतले सवारी, आवास, सुरक्षा, कर्मचारीसहितका सेवा लिइरहेका छन् । उनी अहिले नेकपा (माओवादी केन्द्र) को उपाध्यक्ष भएका छन् ।

राष्ट्रपतिले थालनी गरेको त्यागको अभ्यास पूर्व उपराष्ट्रपति, पूर्व सभामुखहरुदेखि अन्य संवैधानिक पदाधिकारीहरूले गर्न सकेमा राज्यको बोझ घट्ने र जनतामाझ उदाहरणीय सन्देश जाने थियो ।

संविधानविद्हरूले समेत यसलाई सकारात्मक परिपाटीको सुरुवात भन्दै स्वागत गरेका छन् । पूर्वराष्ट्रपतिद्वारा देखाइएको त्याग भावी पुस्ताका लागि पनि मार्गदर्शन बन्न सक्छ ।”

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पहल अब केवल व्यक्तिगत घोषणा नभई सार्वजनिक जीवनमा नैतिकताका नयाँ मापदण्ड स्थापित गर्ने प्रयासका रूपमा हेरिएको छ । अब उपराष्ट्रपति नन्दबहादुर पुनको निर्णय कस्तो आउनेछ भन्नेमा आम चासो बढेको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट