चार बुँदे निर्देशनसहित विपद् व्यवस्थापनमा माओवादी केन्द्रको सक्रियता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सम्भावित प्राकृतिक विपद्—विशेषगरी बाढी र पहिरोबाट हुन सक्ने क्षति न्यूनीकरण तथा व्यवस्थापनका लागि सक्रिय रुपमा तयारी थालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले बुधबार एक परिपत्र जारी गर्दै मातहतका सबै पार्टी संरचनालाई तत्कालै कार्यान्वयनमा लग्न निर्देशन दिएका छन् ।
वर्षायाममा देशका विभिन्न पहाडी तथा तराई भू–भागमा बाढी, पहिरो, डुबानजस्ता विपद् दोहोरिने क्रम बढिरहेको सन्दर्भमा माओवादी केन्द्रले यसलाई गम्भीरतापूर्वक लिँदै आफ्नो संगठन भित्रैबाट व्यापक व्यवस्थापन प्रयास अघि सारेको हो । पार्टीको विपद् व्यवस्थापन विभागको सिफारिसका आधारमा अध्यक्ष प्रचण्डले अविलम्ब लागू गर्नुपर्ने चार बुँदे निर्देशनसहित परिपत्र जारी गराएका हुन् ।
नेपाली राजनीतिक दलहरू प्रायः चुनाव र सत्ता राजनीति केन्द्रित हुने गरेको आरोप खेपिरहेका बेला माओवादी केन्द्रको यो पहल एउटा फरक अभ्यासको रूपमा देखिएको छ । वर्षायाममा जनता सुत्न सक्दैनन्, घर बग्छन्, बाटो बन्द हुन्छ, जनधनको क्षति हुन्छ — यस्ता कठिन परिस्थितिमा प्रत्यक्ष रूपमा राजनीतिक दलको सामाजिक उत्तरदायित्व देखाउने प्रयास सराहनीय छ ।
के के छन् चार बुँदे निर्देशनमा ?
परिपत्रमा विपद् व्यवस्थापन विभागलाई पार्टीको प्रदेश जिल्ला र पालिकास्तरसम्म अविलम्ब निर्माण गर्ने, केन्द्र प्रदेश र जिल्लास्तरमा पार्टीको नेतृत्वमा स्वयंसेवक परिचालन संयन्त्र निर्माण गर्ने, विपद् परिचालन संयन्त्रको नेतृत्वमा सबै जिल्लाहरूमा पार्टी समिति, वाईसियल लगायत सबै जबस मोर्चाहरूबाट सहभागी हुने गरी स्वयंसेवक टोली निर्माण गर्ने र विपद् विभाग र सम्बन्धित कार्यालयले विपद् स्वयंसेवकको तालिम, लजिस्टिक र अन्य आवश्यक सामग्रीहरूको आपूर्ति मिलाउने लेखिएको छ ।
‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को विपद् व्यवस्थापन विभागले वर्षातको समयमा बाढी, पहिरो वा विपदबाट पर्न सक्ने अवस्थालाई ध्यानमा राखी तत्काल सबै पार्टी समितिहरूले निम्न कार्य गर्ने भनी गरिएको सिफारिसहरूलाई पार्टी अध्यक्ष क.प्रचण्डबाट अविलम्ब कार्यान्वयनको लागि परिपत्र जारी गर्ने भनी निर्देशन भएअनुसार यो परिपत्र जारी गरिएको छ’, बुधबार जारी गरेको परिपत्रमा उल्लेख छ ।
१. विपद् व्यवस्थापन विभागको निर्माण र विस्तार
पार्टीको केन्द्रीय तहमा रहेको विपद् व्यवस्थापन विभागलाई प्रदेश, जिल्ला र पालिकास्तरसम्म विस्तार गर्न निर्देशन दिइएको छ । यसले विपद् पूर्वतयारी, तत्कालीन प्रतिक्रिया तथा दीर्घकालीन पुनःस्थापनासम्मको नीति र योजनालाई अगाडि बढाउनेछ ।
२. स्वयंसेवक परिचालन संयन्त्र निर्माण
विपद्को बेला राहत र उद्धार कार्यमा चुस्त परिचालनका लागि केन्द्र, प्रदेश र जिल्ला स्तरमा पार्टी नेतृत्वमा स्वयंसेवक परिचालन संयन्त्र निर्माण गरिनेछ । यस संयन्त्रले समन्वय, परिचालन र मार्गनिर्देशनको भूमिका खेल्नेछ ।
३. स्वयंसेवक टोली गठन
सबै जिल्लामा पार्टी समिति, वाईसियल, जनवर्गीय संगठन तथा मोर्चाहरू समेटेर स्वयंसेवक टोलीहरू गठन गरिनेछन् । यी टोलीहरूलाई विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण, जनसहयोग र पुनःस्थापनाका काममा खटाइनेछ ।
४. तालिम, लजिस्टिक र सामग्री आपूर्ति
विपद् व्यवस्थापन विभाग र सम्बन्धित कार्यालयहरूले स्वयंसेवकहरूलाई आवश्यक तालिम प्रदान गर्ने, र उनीहरूको कार्यसम्पादनका लागि लजिस्टिक र आवश्यक सामग्रीहरूको व्यवस्था मिलाउनेछन् । यिनमा आपतकालीन उपकरण, प्राथमिक उपचार सामग्री, राहत किट, संचार माध्यम लगायत समावेश हुनेछन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया