Techie IT
Samayabaddha
शनिबार, २८ असार, २०८२

बामदेव गौतम र एकीकृत समाजवादीबीच साउन २ गते एकता हुने घोषणा


काठमाडौं । विगतमा एकताको नजिक पुगेर भाँडिएका नेकपा (एकता राष्ट्रिय अभियान) का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री बामदेव गौतम र नेकपा (एकीकृत समाजवादी) बीच एकता हुने टुङ्गो लागेको छ ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र बामदेव गौतमले संयुक्त रुपमा सहमति पत्रमा हस्ताक्षर गरेका छन् । दुई नेताको हस्ताक्षरपछि अब यी दुई पार्टीबीच एकताको औपचारिक प्रक्रिया सुरु भएको छ ।
यही सन्दर्भमा साउन २ गते काठमाडौंको राष्ट्रिय सभागृहमा एक विशेष समारोह आयोजना गरी दुई संगठनबीचको औपचारिक एकता घोषणा गरिने पक्का भएको छ ।

सहमति पत्रमा दुबै नेताको राजनीतिक विचार, सिद्धान्त, कार्यदिशा तथा नेपालको वाम आन्दोलनप्रतिको दृष्टिकोणमा समानता रहेकाले एकता अपरिहार्य भएको उल्लेख गरिएको छ ।

सहमति अनुसार, नेपालमा बिखण्डित हुँदै गएको वाम शक्तिलाई फेरि एकजुट गरिनुपर्ने ऐतिहासिक आवश्यकता भएको र नेकपाको विघटनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई सम्हाल्न यस किसिमको एकता निर्णायक हुने ठहर गरिएको छ ।

बामदेव गौतमले पछिल्लो केही वर्षयता नेपाली वाम आन्दोलनको एकता र समायोजनमा लगातार पहल गर्दै आएका थिए । २०७७ सालमा तत्कालीन नेकपाको विभाजनपछि गौतमले नयाँ राजनीतिक अभियानको घोषणा गर्दै ‘एकता राष्ट्रिय अभियान’ सुरु गरेका थिए ।

उनको अभियानको मूल उद्देश्य छरिएर रहेका वाम घटकहरूलाई पुनः एकजुट गर्दै बलियो र लोकतान्त्रिक वाम शक्ति निर्माण गर्नु थियो ।

गौतमले यसबीचमा नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका विभिन्न वाम दलहरूसँग संवाद र समन्वयको प्रयास गर्दै आएका थिए । तर ती प्रयास तत्काल सार्थक परिणाममा परिणत हुन सकेनन् । अन्ततः, विचार र रणनीतिक हिसाबले सबैभन्दा मिल्दोजुल्दो देखिएको एकीकृत समाजवादीसँगै संस्थागत एकताको निर्णयमा पुगेका हुन् ।

नेकपा (एकीकृत समाजवादी) हालै केही संघीय सांसदहरूको निष्क्रियता, सांगठानिक कमजोरी र आन्तरिक असन्तुष्टिका कारण कमजोर देखिन थालेको छ । यस सन्दर्भमा बामदेव गौतमजस्तो अनुभवी नेता र उनको अभियानलाई समाहित गर्नु एकीकृत समाजवादीका लागि रणनीतिक हिसाबले फाइदाजनक मानिएको छ ।

गौतमको प्रभावशाली अतीत – विशेष गरी नेकपा एमालेभित्रको वैचारिक नेतृत्व र सांगठानिक सुदृढीकरणमा उनको भूमिका – अब एकीकृत समाजवादीलाई नयाँ ऊर्जा दिन सक्ने ठानिएको छ । साथै, बामदेवसँग संगठित रूपमा अझै केही पुराना कम्युनिस्ट कार्यकर्ता र समर्थकहरू जोडिएका छन्, जसको प्रयोग अब समाजवादी पार्टीले गर्न सक्नेछ ।

गौतम एक समय एमालेभित्रको वैचारिक नेतृत्वको धरोहर थिए । अहिले पनि एमालेको केही असन्तुष्ट घेरा उनलाई सकारात्मक नजरले हेर्ने गरेका छन् । एकीकृत समाजवादीमा बामदेवको आगमन एमालेका लागि अप्रत्यक्ष दबाब बन्न सक्छ । विगतमा वामदेव गौतम समाजवादीसँग एकताको नजिक पुग्दा ओलीले नै एमालेमा एकता गर्ने लोभ्याएर वामदेवलाई यता न उताको बनाएर छोडेका थिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट