नेपालमा क्यान्सर उपचारमा नयाँ युग ः ३७ प्रकारका औषधि निःशुल्क उपलब्ध

काठमाडौं । नेपालमा अबदेखि क्यान्सर जस्तो जटिल र खर्चिलो रोगको उपचारमा नेपाली नागरिकलाई थप राहत मिल्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको विशेष पहलमा नेपाल सरकारले क्यान्सर उपचारमा प्रयोग हुने ३७ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।
यो पहल अन्तर्गत नेपालमा हालसम्म सहज उपलब्ध नभएका र अत्यधिक महँगा मानिने औषधिहरू अब सरकारी क्यान्सर अस्पतालहरूमा निशुल्करूपमा उपलब्ध हुने भएका छन् । यस कदमबाट विशेषगरी विपन्न वर्गका नागरिकलाई ठूलो राहत पुग्ने विश्वास लिइएको छ ।
नेपालमा आवश्यक औषधिको अभावका कारण क्यान्सरका बिरामीहरूलाई विदेश जानुपर्ने बाध्यता थियो । यसले बिरामीका परिवारलाई आर्थिक, भावनात्मक र शारीरिक रूपमा अत्यन्त पीडा हुँदै आएको छ । मन्त्री पौडेलको नेतृत्वमा गरिएको यो प्रयासले यस्तो बाध्यतालाई क्रमशः अन्त्य गर्ने विश्वास लिइएको छ ।
डाइरेक्ट रिलिफ नामक अन्तर्राष्ट्रिय च्यारिटी संस्थाले ‘वन हर्ट वल्र्ड वाइड’को समन्वयमा ५ वर्षसम्म नेपाल सरकारलाई क्यान्सरका लागि आवश्यक औषधिहरू सहयोगस्वरूप उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि सोही अन्तर्गत प्राप्त पहिलो चरणको औषधि र सामग्री नेपाल आइपुगेको हो ।
डाइरेक्ट रिलिफबाट प्राप्त औषधि हस्तान्तरणका लागि आयोजित कार्यक्रममा मन्त्री पौडेलले भावुक हुँदै भने, ‘यो लामो मेहनतपछि प्राप्त सफलता हो । औषधिको अभावका कारण बिरामीहरू विदेशमा महँगो खर्च गरेर उपचार गर्न बाध्य थिए, अब त्यो स्थिति अन्त्य हुँदैछ ।’
मन्त्री पौडेलले राज्यको लगानीविना पनि विपन्न नागरिकका लागि राहत ल्याउने यस्तो योजना स्वास्थ्य क्षेत्रमा असाधारण उपलब्धि हो ।
औषधिको वितरण चार प्रमुख अस्पतालबाट
प्राप्त औषधिहरू बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ‘भरतपुर’, भक्तपुर क्यान्सर अस्पताल, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल ‘बाँके’, र वीर अस्पताल ‘काठमाडौं’ मार्फत निःशुल्करूपमा वितरण गरिनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिँदै भने, ‘स्तन क्यान्सर, छालाका रोग, प्लाक सोरियासिस, अल्जाइमर जस्ता समस्यामा प्रयोग हुने औषधिहरू यी अस्पतालमा निःशुल्करूपमा उपलव्ध गराइनेछ ।
मन्त्री पौडेलले उपलब्ध औषधिको सूचीलाई क्रमशः विस्तार गर्ने योजना पनि सार्वजनिक गरेका छन् । उनले अहिले प्राप्त ३७ प्रकारका औषधिलाई आगामी दिनमा अझै विस्तार गरी थप औषधि पनि समावेश गर्ने प्रयास गरिने बताएका छन् ।
कार्यक्रममा मन्त्री पौडेलले जनतालाई सरकारी स्वास्थ्य सेवा, सुविधा र बीमा सम्बन्धी जानकारी नपुगेकोतर्फ ध्यानाकर्षण गराउँदै सञ्चारमाध्यमलाई यी जानकारीहरू प्राथमिकताका साथ प्रसारण गर्न आग्रह गरे ।
मन्त्री पौडेलले स्वास्थ्य बीमादेखि औषधिको व्यवस्था सबै छ भन्ने जानकारीको अभावले धेरै नागरिकले सेवा लिन नसकिरहेका भन्दै सञ्चार माध्यमले सूचनालाई प्रभावकारी रूपमा सम्प्रेषण गरेर जनतालाई सशक्त बनाउन भूमिका खेल्नुपर्ने औल्याए ।
स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा. भीम सापकोटाका अनुसार, नेपालले आगामी ५ वर्षसम्म देशको आवश्यकता अनुसार औषधि प्राप्त गर्ने गरी समझदारी गरेको छ ।
वन हर्ट वल्र्डवाइडका नेपाल प्रतिनिधि सूर्य भट्टले यो सफलता केवल मन्त्री पौडेलको सक्रियता र निरन्तर पहलका कारण सम्भव भएको बताए ।
यसबाट अब नेपालमा क्यान्सर उपचार केवल धनीको पहुँचमा सीमित हुने अवस्था समाप्त हुने अपेक्षा गरिएको छ । यदि योजना अनुसार कार्यान्वयन भयो भने, यो नेपालका लागि मात्र नभई विकासोन्मुख देशहरूका लागि पनि उदाहरणीय अभ्यास बन्न सक्छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया