विप्लव नेतृत्वको नेकपाले माओवादी केन्द्रसँग तत्काल एकता नगर्ने !

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेकपा माओवादी केन्द्रसँग तत्काल एकता नगर्ने निष्कर्ष निकालेको छ । माओवादी केन्द्रको साउन १६ बाट शुरु भई १९ सम्पन्न स्थायी कमिटी बैठकले विप्लबसँग एकता गर्ने निर्णय गरेको भोलिपल्ट नेकपाले तत्काल माओवादी केन्द्रसँग एकता सम्भव नभएको ठहर गरेको हो ।
माओवादीको निर्णय बाहिरिएसँगै नेकपाको स्थायी कमिटी बैठक हिजै सोमबार डाकिएको थियो ।
नेकपाले आफ्नै नेतृत्वमा माओवादी धार समेटेर नेतृत्व गर्ने पहलकदमी लिने निर्णय गरेको छ।
नेकपाले ३० साउनमा सातवटै प्रदेशमा एमसीसीविरुद्ध प्रदर्शन गर्ने र भदौमा केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको छ।
सोमबार साँझ नै नेकपाको स्थायी कमिटी बैठक बसेको थियो । सो बैठकले नेकपा माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नभएको भन्दै एकताको कारण र आधार पहिले स्पष्ट पार्नुपर्ने निष्कर्ष निकालेको छ ।
बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता विश्वकर्माले भने, ‘माओवादी धार, क्रान्तिकारी कम्युनिष्टहरु र समूहसँग एकता र ध्रुवीकरणको हाम्रो नीति त छँदैछ, तर नेकपा माओवादी केन्द्रसँग अहिले एकताको सम्भावना टरेको छ । किनभने उसले त्यसको कारण र आधार पहिले स्पष्ट पार्नुपर्छ ।’
देश इतिहासकै सबैभन्दा अप्ठ्यारो स्थितिमा रहेको भन्दै नेकपाले त्यसको समाधानका लागि नेकपाले पहलकदमी लिने र समाजवादी गणतन्त्रमा अघि बढ्ने निर्णय गरेको प्रवक्ता विश्वकर्माले जानकारी दिए ।
३० साउनमा एमसीसीविरुद्ध प्रदर्शन, भदौमा केन्द्रीय समिति बैठक
बैठकले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न भदौमा केन्द्रीय समिति बैठक बस्ने र ३० साउनमा सातवटै प्रदेशमा प्रदर्शन गर्ने निर्णय समेत गरेको छ ।
एमसीसी राष्ट्रहित अनुकूल नभएको भन्दै नेकपाले काठमाडौं उपत्यकासहित सातवटै प्रदेशका मुख्य शहरमा प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वकर्माले जानकारी दिए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया