आफ्नै पार्टीका ‘बहादुर’लाई ढालेर मुख्यमन्त्री बने बानियाँ !

हेटौंडा । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । नेपाली कांगेस बागमती प्रदेशका अध्यक्ष समेत रहेका बानियाँ बागमती प्रदेशको छैटौं मुख्यमन्त्री नियुक्त भएका हुन् ।
बानियाँ ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थनमा बानिया मुख्यमन्त्रि बनेका हुन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा बुझाएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार (२० साउन) दिउँसो २ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।
प्रदेश प्रमुखको आव्हानसँगै नेता बानियाँले नेकपा एमाले र नेपाली कांग्रेसका ६४ जना सांसदहरुको हस्ताक्षरसहित हिजै दाबि पेश गरेका थिए ।
साउन १४ गते कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामालाई पराजीत गरेर ईन्द्रबहादुर बानियाँ कांग्रेस संसदीय दलको नेता चयन भएपछि उनलाई मुख्यमन्त्री हुने बाटो खुलेको थियो ।
तर मुख्यमन्त्री बन्नको लागि संसदीय दलको नेता भइरहन नपर्ने भन्दै बहादुर सिंह लामाले राजीनामा दिन आनाकानी गर्दै आएका थिए ।
शुरुमा राजीनामा नदिने अडानमा रहेको लामाले सभापति शेरबहादुर देउवाको अनुरोधलाई मानेर राजीनामा दिएको बताए । उनले भने, ‘पार्टी सभापति शेरबहादुर देउवाज्यूले र दलभित्र विकसित पछिल्ला घटनालाई मनन गरी आपसी समझदारीमा सरकार सञ्चालन गर्न मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएकोले पार्टीेको एक इमानदार सिपाहीको हैसियतले मैले मुख्यमन्त्री पदबाट राजीनामा दिन लागेको’ पत्रकारसमक्ष बताएका हुन् ।
कांग्रेस सभापति देउवाले बानियाँ र लामा दुवैलाई राखेर छलफल गरेपछि संसदीय दल नेताको निर्वाचन भइसकेका बानियाँलाई मुख्यमन्त्री बन्न मार्गप्रशस्त गर्नु उपयुक्त हुने सुझाव दिएका थिए ।
आइतबार लामाले पत्रकार सम्मेलन गरी राजीनामा दिने घोषणा गरेपनि सोमबार मात्रै लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको थियो ।
संसदीय दलको निर्वाचनमा बानियाँको पक्षमा २२ सांसदले मतदान गरेका थिए । तत्कालिन मुख्यमन्त्री लामाको पक्षमा १४ सांसद खुलेका थिए भने एउटा मत बदर भएको थियो । बागमतीमा कांग्रेसका ३७ सांसद छन् ।
बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार छ । सत्तासाझेदार दल नेकपा एमालेसँग एक वर्षअघि सरकारको नेतृत्व गर्ने समयावधिको सहमतिअनुसार बानियाँले ८ महिना सरकार सञ्चालन गर्न पाउनेछन् । पूर्वसहमतिअनुसार बानियाँले आगामी फागुनबाट एमालेलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने एमालेले सचेत गराइसकेको छ ।
पूर्व मुख्यमन्त्री लामाले साउन १४ मा नियुक्त गरेका तीन जना मन्त्रीलाई शपथ गराउनुपर्ने शर्त बानियाँसँग राखेको बताइएको छ ।
संसदीय दलको निर्वाचनमा पराजित भइसकेपछि लामाले कांग्रेस बागमती प्रदेश सभाका प्रमुख सचेतक समेत रहेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरुको सपथ सत्ता साझेदार दल नेकपा एमालेको असहमति पछि रोकिएको थियो ।
मुख्यमन्त्री बानिया यसअघि २०७९ पुस १३ मा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा लामासँग ५ मतले हार व्यहोरेका थिए । त्यसबेला लामाले २१ र बानियाँले १६ मत ल्याएका थिए ।
अहिले बानियाँलाई मिलेको ‘सफलता’ पछाडि प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेट बनेको छ ।
नुवाकोटका बहादुर सिं लामा तामाङ र मकवानपुरका ईन्द्रबहादुर बानियाँ दुवै निर्माण व्यवसायी पृष्ठभूमिका नेता हुन् । उनीहरू दुवै सभापति देउवानिकट मानिन्छन् ।
बानियाँको राजनीतिक पृष्ठभूमि
बानियाँ २०४४ सालदेखि राजनीतिमा होमिएका थिए । नेपाल विद्यार्थी सङ्घ, तरुण दल, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यको समेत अनुभव संगालिसकेका बानिया २०७३ सालमा कांग्रेस मकवानपुरका सभापति भएका थिए ।
२०६४ सालमा संविधानसभा सदस्यमा मकवानपुर क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ उम्मेदवार बनेका बानिया २०७० सालको संविधानसभा निर्वाचनमा कम्युनिस्टहरुको लालकिल्ला भत्काएर विजयी बनेका थिए ।
उनले २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । कांग्रेस नेता विमलेन्द्र निधि गृह मन्त्री हुँदा बानियाँ राज्यमन्त्री भएका थिए ।
२०७४ सालमा मकवानपुर सङ्घीय क्षेत्र २ को ‘ख’ बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएपछि बानियाँले सर्वसम्मत रूपमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता चयन भई जिम्मेवारी पाएका थिए । तर पहिलो कार्यकालमा उनलाई मुख्यमन्त्री हुन जुरेको थिएन । २०७९ को निर्वाचनमा पुनः सोही क्षेत्रबाट निर्वाचित भई संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका थिए ।
तर त्यतिबेला उनी लामासँग पराजित भए । अहिले भने बानियाँले आफ्नो पक्षमा वहुमत सांसदको समर्थन जुटाइ बागमती प्रदेश सरकारको नेतृत्व लिन सफल भए ।
बानियाँ भन्दा अगाडि बागमती प्रदेश सरकारमा पाँच जना मुख्यमन्त्री बनिसकेका छन् । डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा बागमती प्रदेशको मुख्यमन्त्री बनिसकेका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया