Techie IT
Samayabaddha
शनिबार, २८ भदौ, २०८२

साउन महिना सकिन लाग्दा देशभर ८३ प्रतिशत मात्र रोपाइँ


काठमाडौँ । साउन महिना सकिन लाग्दा हालसम्म देशभर ८३.८८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार १३ लाख ७८ हजार ९६६ हेक्टर रोपाइँ योग्य क्षेत्रफलमध्ये साउन १८ गतेसम्म ११ लाख ५६ हजार ६८७ हेक्टरमा धान रोपिएको हो ।

गत वर्षको साउन २० गतेसम्म ९६.४७ प्रतिशत रोपाइँ भएको थियो । मन्त्रालयका अनुसार अहिले देशभर मनसुन सक्रिय भएकाले बाँकी रोपाइँ चाँडै सम्पन्न हुने अपेक्षा गरिएको छ ।

प्रदेशगत विवरण हेर्दा सुदूरपश्चिम प्रदेश ९९.७२ प्रतिशत रोपाइँ पुरा गरी सबैभन्दा अगाडि रहेको छ । उक्त प्रदेशमा १ लाख ७६ हजार १५१ हेक्टरमध्ये १ लाख ७५ हजार ६५२ हेक्टरमा रोपाइँ भइसकेको छ । कर्णाली प्रदेशमा पनि ९६.४७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कर्णालीमा ४१ हजार ४२ हेक्टर क्षेत्रफलमध्ये ३९ हजार ५९४ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।

यसैगरी, लुम्बिनी प्रदेशमा ९५.९६ प्रतिशत, गण्डकीमा ८८.९७ प्रतिशत, बाग्मतीमा ९२.९२ प्रतिशत, कोशी प्रदेशमा ८९.०३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । तर, मधेश प्रदेशमा भने रोपाइँको गति ढिलो देखिएको छ ।

३ लाख ७२ हजार ६४५ हेक्टर रोपाइँ योग्य क्षेत्रफलमध्ये हालसम्म ५७.२८ प्रतिशत अर्थात २ लाख १३ हजार ४३८ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ ।

धान उत्पादनमा मुख्य योगदान दिने क्षेत्रहरूमध्ये एक रहेको मधेश प्रदेशमा पानी अभाव र पूर्वाधार समस्या जस्ता कारणले गर्दा रोपाइँ सुस्त गतिमा भइरहेको बताइएको छ ।

सुक्खाग्रस्त मधेश प्रदेशमा केही दिनदेखि पर्याप्त वर्षा भएपछि किसान रोपाइँमा व्यस्त भएका छन् । वर्षाले रोपिसकेको रोपो सुक्नबाट जोगिएको भन्दै किसानले खुसी व्यक्त गरेका छन् ।

अहिलेसम्म नहर, कुलोपैनी, स्यालो ट्युबेल, डिप बोरिङलगायतको सहाराले रोपाइँ गर्दै आएका किसानलाई वर्षाले खुसी बनाएको छ । मधेशमा धेरै जसो किसानले आकासे पानीका भरमा खेती गर्दै आएकोमा केही दिनको वर्षाले रोपाइँमा मद्दत पुगेको हो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट