Techie IT
Samayabaddha
शनिबार, २८ भदौ, २०८२

भदौ महिनाका लागि कुन बैंकले कति बनायो ब्याजदर ?


काठमाडौं । भदौ महिनाका लागि वाणिज्य बैंकहरूले प्रकाशित गरेको ब्याजदर साउनको तुलनामा झन् घटेको देखिएको छ । व्यक्तिगत मुद्दति निक्षेपमा साउन महिनामा औसत ५.६९ प्रतिशत ब्याजदर कायम भएकोमा भदौमा यो घटेर ५.५७ प्रतिशतमा पुगेको छ । यस अवधिमा २० वाणिज्य बैंकमध्ये ८ बैंकले ब्याजदर घटाएका छन् भने प्रभु बैंकले बढाए पनि बैंकको ब्याज सस्तो नै रहेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा ठूलो गिरावट देखाउँदै साउनको ६.२६ प्रतिशतबाट भदौमा ५.१३ प्रतिशतमा झारेको छ, जसले १.१३ प्रतिशत अंकको कमी देखाउँछ । लक्ष्मी सनराइज बैंकले पनि आफ्नो ब्याजदर ५.५० प्रतिशतबाट ५.०० प्रतिशतमा घटाएको छ । यस्तै, एभरेष्ट बैंक, सानिमा बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक र नेपाल एसबिआई बैंकले समेत ब्याजदर घटाएका छन् ।

उता, प्रभु बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ब्याजदर ४.२५ प्रतिशतबाट बढाएर ५.३५ प्रतिशत पुर्याएको छ । यससँगै प्रभु बैंक अघिल्लो महिनामा सबैभन्दा कम ब्याज दिने बैंकबाट एकैपटक बढाएर मध्यम समूहमा प्रवेश गरेको छ ।

उच्चतम र न्यूनतम ब्याजदर

व्यक्तिगत मुद्दति निक्षेपमा एनआईसी एशिया बैंकले साउनको जस्तै भदौ महिनामा पनि उच्चतम ब्याजदर ६.२५ प्रतिशत कायम राखेको छ । त्यसैगरी, एनएमबी बैंक, हिमालयन बैंक र ग्लोबल आईएमई बैंकले ६ प्रतिशत ब्याज कायम राख्दै स्थिरता देखाएका छन् ।

त्यसमध्ये सबैभन्दा कम ब्याजदर लक्ष्मी सनराइज बैंकले प्रस्ताव गरेको छ, जसले भदौ महिनामा ५ प्रतिशत मात्र ब्याज दिनेछ।

संस्थागत मुद्दति निक्षेपमा थप गिरावट

संस्थागत मुद्दति निक्षेपमा पनि भदौमा गिरावट देखिएको छ । साउन महिनामा औसत ब्याजदर ४.११ प्रतिशत रहेकोमा भदौ महिनामा यो घटेर ३.९६ प्रतिशतमा पुगेको छ । यस अवधिमा ७ वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् भने कुनै बैंकले वृद्धि गरेको छैन ।

कृषि विकास बैंकले ३.५० प्रतिशतबाट २.८५ प्रतिशतमा झार्दा, सिद्धार्थ बैंकले ४.७५ प्रतिशतबाट ४ प्रतिशतमा घटाएको छ । त्यस्तै, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, नेपाल एसबिआई बैंक लगायतले समेत गिरावट देखाएका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट